सुन्दरहरैंचामा लोहितगंगा मुक्तिघाट निर्माण हुने, १६ करोडको बहुआयामिक योजना अघि बढ्यो

एलएन गच्छदार

मोरङ, सुन्दरहरैंचा — सुन्दरहरैंचा नगरपालिका–११, शुक्रबारेस्थित लोहितगंगामा बहुआयामिक मुक्तिघाट निर्माणको कार्य अघि बढाइएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंले मलामीघरको शिलान्यास गर्दै घाट निर्माणको औपचारिक सुरुवात गर्नुभएको हो।

मुक्तिघाट व्यवस्थापन समिति अध्यक्ष नवराज चापागाईंका अनुसार, घाटको लागि आवश्यक जग्गा प्राप्त भएसँगै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ। कुल १६ करोड ५२ लाख रुपैयाँको लागत अनुमान गरिएको यस बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमै ४२ लाख रुपैयाँ विनियोजन गरी मलामीघर र घाट निर्माण सुरु हुने भएको हो। प्रारम्भिक चरणमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको सहकार्यमा २५ लाख रुपैयाँमा मलामी कुरुवा घर पनि निर्माण गरिनेछ।

नगरप्रमुख गुरागाईंले लोहितगंगालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मान्दै यो स्थानलाई एक तिर्थस्थलको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए। “समुदायको सुरक्षा, तटबन्ध, र धार्मिक मूल्यलाई समेटेर यो परियोजना अघि बढाइएको हो,” उहाँले भन्नुभयो।

शिलान्यास कार्यक्रममा उपप्रमुख अकली चौधरी, पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, पूर्व उपप्रमुख धनमाया तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारीहरू र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

व्यवस्थापन समिति अध्यक्ष चापागाईंले लोहितगंगा घाटलाई विद्युतिय दाहसंस्कार स्थल (इलेक्ट्रीक घाट) को रुपमा समेत विकास गरिने जानकारी दिनुभयो। नगर प्रवक्ता तथा वडा नं १२ का अध्यक्ष रोशन प्रसाद ढकालले हावाहुरी, बाढी र पहिरोका कारण मलामीहरूलाई सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न दीर्घकालीन योजना बनाइएको बताउनु भयो ।

यस क्षेत्रलाई पर्यटकीय धार्मिक पार्कको रुपमा विकास गर्ने उद्देश्यका साथ सम्पूर्ण समुदायको सहभागिता र सहकार्य अपेक्षित गरिएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *