माग पुरा नभए सडक आन्दोलन गर्छु– पूर्व मुख्यमन्त्री राई
ब्रह्मदेव यादव, विराटनगर
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले माग पुरा नभए सरकारका विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पार्टीको तर्फबाट कोशी प्रदेशका इन्चार्ज समेत रहेका पूर्व मुख्यमन्त्री राई र पार्टीका कोशी प्रदेश अध्यक्ष सरिता खड्का नेतृत्वको टोलीले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब पार्टीको तर्फबाट बुझाइएको माग पुरा नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पूर्व मुख्यमन्त्री राई र कोशी प्रदेश अध्यक्ष खड्का सहित पार्टीका नेता र कार्यकर्ताहरू आइतबार कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको कार्यकक्षमै पुगेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाए । नेकपा एकीकृत समाजवादी कोशीले झापाको विर्तामोड स्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
भूमि व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत रहेकोले चर्चामा रहेको गिरी बन्धु टी–इस्टेटबारे उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेका छन् । जवाफमा मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पुरा गर्ने र बाँकी मागलाई बिस्तारै पुरा गर्दै जाने बताए ।




