सुन्दरहरैंचा–१ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न
सुन्दरहरैंचा–१ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न
सुन्दरहरैंचा, मोरङ – असार १८, २०८२
सुन्दरहरैंचा नगरपालिका वडा नं. १ को आयोजना तथा हसिना मिडिया प्रा.लिको सहजीकरणमा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्न आयोजित कार्यक्रम वडास्तरीय योजना, सेवा प्रवाह र उपलब्धिबारे प्रत्यक्ष संवादका लागि प्रभावकारी माध्यम बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष, वडाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वडाध्यक्षले कार्यक्रममार्फत वडा कार्यालयले हालसम्म पुर्याएको सेवा, विकास निर्माणका गतिविधि, चुनौती तथा आगामी योजना सार्वजनिक गर्दै नागरिकहरूको जिज्ञासा, सुझाव र गुनासोहरूलाई खुलेर सुन्ने अवसर प्रदान गरिएको जानकारी दिए।
हसिना मिडिया प्रा.लिको सहजीकरणमा सञ्चालन भएको सुनुवाइ कार्यक्रममा नागरिकहरूले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सामाजिक सुरक्षा, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा प्रश्न राखेका थिए। सम्बन्धित जिम्मेवार व्यक्तिहरूबाट प्रत्यक्ष उत्तर दिइएको थियो।
कार्यक्रमले सेवा प्रवाहमा सुधार, नागरिक–सरकार सम्बन्ध बलियो पार्ने तथा आगामी योजना जनआवश्यकता अनुरूप बनाउने मार्ग तय गरेको सहभागीहरूको धारणा रहेको थियो। कार्यक्रम संयोजनमा नगर प्रहरीको उपस्थिति र सहयोग पनि उल्लेखनीय रह्यो।




