सुन्दरहरैँचामा कुकुरको रेविज खोप र बन्ध्याकरण कार्यक्रम सुरू
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिकामा सामुदायिक कुकुरहरूलाई लक्षित गरी निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रम सुरु भएको छ। नेपाल एग्री लाईभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र नगर कार्यपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
नगरपालिका वडा नम्बर ४ मा मंगलबारदेखि सुरु भएको कार्यक्रममा नगरका सबै १२ वटै वडाबाट कुकुरहरू संकलन गरी पशु स्वास्थ्य शाखामा लगेर बन्ध्याकरण तथा खोपको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए।
कार्यक्रम अन्तर्गत करिब ३०० कुकुरलाई बन्ध्याकरण गरी रेविज विरुद्धको खोप दिने लक्ष्य लिएको छ। साविकका सुन्दरदुलारी तथा कोशीहरैँचा नगरपालिकाका क्षेत्रमा रहेका कुकुरहरू पनि कार्यक्रम अन्तर्गत खोप र बन्ध्याकरणको दायरामा ल्याइनेछ।
