सुन्दरहरैंचामा सहकारी व्यवस्थापन तालिम सम्पन्न, प्रतिवेदन नबुझाउने सहकारीहरूमाथि अनुगमन गरिने चेतावनी
सुन्दरहरैंचामा ५ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न
प्रतिवेदन नबुझाउने सहकारीहरूमाथि अनुगमन गरिने चेतावनी
मोरङ, सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा जनचर्चा टाइम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि.को आयोजनामा आयोजित ५ दिने सहकारी व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो। तालिममा सहकारी सिद्धान्त, लेखा तथा प्रशासनिक प्रणाली, व्यवस्थापन सीप, नेतृत्व विकास तथा सहकारी ऐन तथा नियमावलीसम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
हाल सुन्दरहरैंचा नगरपालिकामा जम्मा ७४ वटा सहकारी संस्था दर्ता भए पनि ३९ वटा सहकारी संस्थाले मात्र मागिएको प्रतिवेदन बुझाएको तथ्य सार्वजनिक गरिएको छ।
तालिमपछि नगरपालिकाले भन्यो -” कानुन अनुसार सबै सहकारी संस्थाले समयमै प्रतिवेदन बुझाउनु अनिवार्य छ, र अबदेखि प्रतिवेदन नबुझाउने संस्थाहरूलाई अनुगमन गरी कानुनी दायरामा ल्याइनेछ।”
कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले सहकारी संस्थाहरूलाई उद्देश्य अनुसार काम गर्नुपर्ने, पारदर्शिता र उत्तरदायित्वमा जोड दिनुपर्ने, साथै सहकार्यको भावना बोकेर सहकारी क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता पनि जनाइन्।
तालिमको क्रममा मोरङ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं प्रशिक्षक जीवन बस्नेतले सहकारी लेखा प्रणाली र व्यवस्थापनसम्बन्धी जटिल अवधारणालाई गीत र संगीतको माध्यमबाट प्रस्तुत गरे। लय र तालमा लेखा विषयवस्तु प्रस्तुत हुँदा सहभागीहरू उत्साहित र सक्रिय देखिएका थिए।
५ दिने तालिमको चौथो दिनमा “COPOMIS तालिम” संचालन गरियो, जसमा राष्ट्रिय सहकारी बैंकका तालिम महाशाखाका अधिकृत राजकुमार बरालले सहजीकरण गरे।
त्यस्तै, सुन्दरहरैंचा सहकारी शाखा प्रमुख दिनेश कुमार घिमिरे र सामान्य प्रशासन तथा क्षमता विकास प्रमुख बिनोद न्यौपानले सहकारी कानुन, कार्यविधि तथा हालको अवस्थाबारे सहभागीहरूलाई जानकारी गराउँदै प्रशिक्षण दिए।
तालिम समापन समारोह जनचर्चा टाइम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक एलएन गच्छदारको सभाध्यक्षतामा सम्पन्न भयो। सभामा उनले सहभागी, प्रशिक्षक तथा नगर प्रतिनिधिहरूलाई धन्यवाद दिँदै भविष्यमा अझ प्रभावकारी र उपयोगी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
तालिम संयोजक शिव भट्टराई भोजपुरेले सम्पूर्ण सहभागिता, सहकार्य र सफलतालाई धन्यवाद ज्ञापन गर्दै तालिमको समापन गरेका थिए। सो अवसरमा हातेमालो बहुउद्धेशीय सहकारी संस्थाका सचिव गुरु प्रसाद अधिकारी, कार्यपालिका सदस्य आन्नद लिंखा, बिभिन्न सहकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

