इनरुवाको ग्रीन सिटिमा ‘एक इट्टा अभियान’ : पाथिभरा मन्दिर निर्माण कार्य तीव्र गतिमा

एलएन गच्छदार / सुन्दरहरैंचा,
इनरुवाको ग्रीन सिटिमा सामाजिक अभियन्ता नेत्र चौलागाईंको नेतृत्वमा सुरु गरिएको ‘एक इट्टा अभियान’ अन्तर्गत पाथिभरा मन्दिरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

समाजसेवा र विकासको क्षेत्रमा सक्रिय चौलागाईंले धार्मिक तथा सामाजिक एकताको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको सुरुवात गरेका हुन्। “हरेक व्यक्तिबाट कम्तीमा एउटा इट्टा दान गराउने” भन्ने मूल मन्त्रका साथ सुरु गरिएको यस अभियानले स्थानीय समुदायको उल्लेखनीय साथ र समर्थन प्राप्त गरिरहेको छ।

अभियानमा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि के.सी.ले समेत सकृय सहभागिता जनाउँदै आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पाथिभरा मन्दिरको निर्माणले धार्मिक आस्था र सामाजिक एकता दुवैलाई बल पुग्ने विश्वास व्यक्त गरे।

स्थानीयवासीको उत्साहजनक सहभागिता र सकारात्मक उर्जाले अभियानले तीव्र गती लिएको छ। मन्दिर निर्माण कार्य एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको चौलागाईंले जानकारी दिए।

यसै ग्रीन सिटीमा मन्दिरसँगै आधुनिक संरचनाहरू जस्तै होटल, स्विमिङ्ग पुल, शपिङ्ग मल, अस्पताल, खेलमैदान लगायतका सुविधाहरू निर्माण हुने बताइएको छ। सबै संरचनाहरू एउटै स्थानमा निर्माण हुने भएपछि स्थानीयहरू उत्साहित देखिएका छन्। चौलागाईंका अनुसार ग्रीन सिटी क्षेत्रले भविष्यमा व्यापारिक हबको रूपमा विकास लिने सम्भावना रहेकोले अहिले जग्गा समेत सस्तो मूल्यमा बिक्री भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *