इन्द्रपुर नमुना सेकेण्डरी स्कूलद्वारा वार्षिक खेलकुद सप्ताह सम्पन्न, विजयी खेलाडीहरू पुरस्कृत
एलएन गच्छदार
मोरङ सुन्दरहरैंचा नगरपलिका वडा -१२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कूलले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न खेलकुद प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयले विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूले दौड, लङ जम्प, हाई जम्प, कबड्डी, फुटबल, भलिबल, बास्केटबल, सुटपुट लगायतका खेलमा प्रतिस्पर्धा गरेका थिए। विद्यालयका प्रिन्सिपल शान्तिराम गौतम तथा अतिथिहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गरे।
समापन कार्यक्रममा प्रिन्सिपल शान्तिराम गौतमले खेलकुदले अनुशासन, आत्मविश्वास, सहकार्य, तथा नेतृत्व विकास गर्ने भएकाले यस्ता गतिविधिहरूलाई विद्यालयले प्राथमिकता दिनुपर्ने बताए। विद्यालय प्रशासनले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्न आगामी वर्षहरूमा समेत खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
पुरस्कार वितरण समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






