सुन्दरहरैंचा नगरपालिकाको पन्ध्रौँ नगर सभा सम्पन्न: पाँच विधेयक पारित

एलएन गच्छदार / सुन्दरहरैंचा / माघ २२ गते:
सुन्दरहरैंचा नगरपालिकाको पन्ध्रौँ नगर सभा मङ्गलबार नगर प्रमुख केदारप्रसाद गुरागाईंको सभाध्यक्षतामा सभाहलमा सौहार्द्रपूर्ण र भव्यताका साथ सम्पन्न भयो। विधेयक सभाको रूपमा आयोजित यस हिउँदे नगर सभामा नगरपालिकाले पाँच महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ।
पारित भएका विधेयकहरू:
• विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक।
• आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक।
• न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
• न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक।
• सहकारी ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक।
नगर सभामा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ लाई संशोधन गर्ने विधेयकहरू उप-प्रमुख अकली चौधरीले टेबल गर्नुभएको थियो। बाँकी तीन विधेयक विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभयो। यी विधेयकहरू नगर सभामा छलफलपछि सर्वसम्मतिले पारित गरिएका हुन्।
नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकाको प्रभावकारी प्रशासन, सुशासन, र स्थानीय विकासमा यी विधेयकहरूले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले भने, “यो नगर सभा नगरपालिकाको व्यवस्थापकीय सुधार र जनताको आवश्यकतालाई सम्बोधन गर्ने दिशामा ऐतिहासिक बन्नेछ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेका अनुसार, नगर प्रमुखद्वारा प्रमाणीकरण गरिएका यी विधेयकहरू अब स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्। यसले नगरपालिकाको कानुनी संरचनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

नगर सभामा नगर प्रमुख, उप-प्रमुख, विधायन समिति, विभिन्न वडाका जनप्रतिनिधिहरू, र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो। सभाको वातावरण सौहार्द्रपूर्ण रहेको र विधायन प्रक्रिया कुशलताका साथ सम्पन्न भएको बताइएको छ।
नगर सभाको यो उपलब्धिले सुन्दरहरैंचा नगरपालिकालाई सुशासन र पारदर्शितातर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *