१६ दिने अभियानमा महिला सिटीसफारी चालक सम्मानित
हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मोरगको सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा एराइज नेपाल सोसाइटीको आयोजना तथा नगरपालिकाको सहयोगमा सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
साे कार्यक्रममा सिटि सफारी महिला चालक पार्वती विश्वकर्मा, सीता पाैडेल, सरिता सरदारलाई सम्मान समेत गरेको छ । यस्तै कार्यक्रममा महिला अधिकारका विषयमा सुशीला सुवेदी पाठकले सहभागीलाई सहजीकरण गर्दै जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रमको उद्घाटन नगर उपप्रमुख अकाली चौधरीले गर्नुभयो। उहाँले सभ्य र हिंसारहित समाज निर्माणमा सबैको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एराइज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले अभियानको उद्देश्य स्पष्ट पार्दै महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको समाधानका लागि कानुनी आधार तय गर्न यो कार्यक्रम गरिएको बताउनु भयाे।
नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशन प्रसाद ढकालले पितृसत्तात्मक सोच, सामाजिक विभेद र लैंगिक असमानता विरुद्ध अभियान संचालन गर्दा समाज परिवर्तनमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।
नेपाल सरकारले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने गरेको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, स्वयंसेवक, जनप्रतिनिधि कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
