सुन्दरहरैंचामा मौसमी व्यापार, जनस्वास्थ्यमा असर
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा नगरपालिका भित्र रहेका विभिन्न बजार क्षेत्र तथा चोकमा मौसमी सडक व्यापार फस्टाउँदै गएको छ ।
चाडपर्वमा मात्र देखा पर्ने यस किसिमको व्यवसायले उपभोक्ता भने ठगिन पुगेका छन् । सुन्दरहरैंचाको खोर्साने, विराटचौक, हरैंचा, सलकपुर, गोठगांउ, गछिया बलिया लगायत मुख्य चौकहरूमा मौसमी व्यापार हुँदै आएको पाइएको हो ।
आर्थिक मन्दी र यहाँका उपभोक्ताहरू समेत अन्यन्त्र सामान किनमेल गर्न जाने समस्यालाई झेलिरहेका यहाँका व्यवसायीहरूलाई यस किसिमको मौसमी व्यवसायले भने झन् पिरोली रहेको छ । एक व्यवसायी भन्छन् ” हामीले राज्यलाई कर तिरिरहेका छौ, महँगो मूल्य तिरेर सटर भाडामा लिएर व्यवसाय गरिरहेका छौ ।
तर बेलाबेला मात्र सडकमा सामान फिँजाएर विक्री गर्ने व्यवसायीहरूले सटर भाडामा लिएर बसेका व्यवसायीहरूलाई समस्यामा पारेका छन् । उनीहरू कहाँबाट आउँछन्, अनि अन्य बेला कहाँ जान्छन् त्यो नि थाहा हुँदैन । स्थानिय तह पनि मौन छ ।”
यता नगरपालिकाले भने बजारलाई व्यवस्थित बनाउन लागेको जनाएको छ । नगरप्रमुख केदार गुरागाईँ भन्छन् यो समस्या छिट्टै समाधान हुन्छ । नगरपालिकाले यो विषयलाई गम्भीर रूपमा लिएको छ ।
व्यापार व्यवसायको अनुगमन कसले गर्ने भन्ने अन्योल हुँदा नगरमा व्यवसायीहरू भने समस्यामा परेको सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की बताउँछन् ।
कार्कीका अनुसार पटक पटक नगरपालिकालाई यस मौसमी व्यापारको समस्याको समाधानका लागि ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले चासो नदिएको बताए ।
उद्योग वाणिज्य सङ्घ यस समस्याको समाधानका लागि सधैँ तयार छ तर नगरले केही लिखित आग्रह गरोस् । नगरले अनुगमन पनि गर्न नसक्ने अनि समस्या समाधान पनि गर्न नसकेको कारण यहाँ दर्ता रहेका व्यापारीहरू सधैँ समस्यामा परेको कार्की बताउँछन् ।
वर्ष भरी समस्यामा परेका व्यापारीहरू चाडपर्वमा केही हुन्छ कि भनेर आफ्नो व्यवसाय सञ्चालन गरेर बसेका हुन्छन् तर राज्य नै सकारात्मक नहुँदा व्यापारी समस्यामा परेको कार्की बताउँछन् ।
