‘‘सिरियल किलर’ शोभराजलाई फ्रान्स पठाउने तयारी
इटहरी । ‘सिरियल किलर’ नामले चिनिएका चार्ल्स शोभराजलाई पून नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी भएको छ । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका सोभराजलाई नेपाल पून आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भएकाे हाे । अध्यागमन विभागका अधिकारीहरुले तयारी अघि बढाइएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको बताइन् ।
सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबार नै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसेका थिए ।
