सुन्दरहरैंचा नगरपालिका वडा -१२ का ७२ जना जेष्ठ नागरिकलाई सम्मान
सुन्दरहरैंचा / चैत्र २३ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा ७२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। जेष्ठ नागरिक समाज १२ नं. वडा समितिको आयोजना तथा सो वडा कार्यालयको सहकार्यमा शुक्रबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
सो वडाका जेष्ठ नागरिक समाजका अध्यक्ष शिवप्रसाद दाहालको संयोजकत्वमा संचालन भएको कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले उदघाटन गर्नुभयो।
नगर प्रमुख गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै जेष्ठ नागरिक भनेको घरको मात्र होइन राज्यको अभिभावक भएको भन्दै सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ भन्ने भावनाको बिकास भएको कारण अहिले घरमा शान्ति भएको उल्लेख गर्नुभयो। साथै सुनसरीको चतरामा हुने महाकुम्भ धार्मिक भ्रमण गर्न सुन्दरहरैंचाका जेष्ठ नागरिकलाई सहयोग गर्ने बताउनुभयो।
ज्येष्ठ नागरिकको सम्मान भन्नाले ज्येष्ठ नागरिकले शारीरिक एवं मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्छ भन्ने हो । साथै उमेर, लिङ्ग, वर्ण, जाति, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा ज्येष्ठ नागरिकलाई विभेद गरिनु हुँदैन । वडाको बजेटबाट जेष्ठ नागरिकलाई तिर्थ स्थल घुमाउन लाने गरेको भन्दै यस वर्ष छुट्याएको बजेटले ७२ जनालाई सम्मान गरेको सो वडाका सदस्य दिलि[प दाहालले बताउनुभयो।

नेपालमा ६० वर्षभन्दा माथिको उमेरलाई ज्येष्ठ नागरिकको दर्जामा संविधान र ज्येष्ठ नागरिक ऐनमा व्यवस्था गरिएको छ । पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो।
नगरमा जेष्ठनागरिकले गरेको योगदानलाई भुल्नु हुँदैन उहाँहरुको अनुभव बाट धेरै पाठ सिक्न सकिने बताउदैं सो वडा अध्यक्ष रोशन प्रसाद ढकालले जेष्ठ नागरिकलाई सम्मान र वहाँहरुको जीवनलाई ब्यबस्थित गरी लानु पर्ने बताउनुभयो।
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरि सकेपछि जीवनको उत्तरार्धमा सम्मानपूर्वक र आरामपूर्वक बाँच्न पाउने ज्येष्ठ नागरिकको अधिकार हो । सो कार्यक्रममा जेष्ठ नागरिक समाज अध्यक्ष रामकुमार कार्की, सल्लाहकार समिति संयोजक पितकुमार श्रेष्ठ, मोहन भट्टराई,अमृत प्रसाद आचार्य लगायतले आफ्ना धारणा राखेका थिए।
प्रौढावास्था प्राकृतिक देन हो, यो जोकोहीको हकमा आउँछ । यसलाई रोक्न र छेक्न सकिन्न । विज्ञान, प्रकृति कसैले पनि यसको खिलाफमा जान सक्दैन । प्रकृतिको यो अनिवार्य सर्त हो । त्यसैले ज्येष्ठ नागरिकलाई श्रद्धाभावले हेरौ, सहयोग गरौ, हेला होचो नगरौ । ज्येष्ठजन हाम्रा अमूल्य निधि हुन् । समाजका मूल्य, मान्यता, संस्कार र संस्कृतिका संवाहक र संरक्षक हुन् ।