आर्थिक अनियमितता पुस्टी भएपछि उपरथी प्रेम शाही नेपाली सेनाबाट बर्खास्त

काठमाडाैं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ।अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो। सेनाले अनियमितता आरोपमा शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरेको थियो। उक्त प्रकरणमा कोर्ट मार्सलले दोषी ठहर गर्दै शाहीलाई बर्खास्त गर्ने निर्णय लिएको हो। 

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी फैसला भएको बताए। ‘उहाँ (शाही) लाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सैनिक अदालतले कारबाही निर्णय गरेको छ’, भण्डारीले भने, ‘अनियमितता भएको ठहरसहित सैनिक अदालतले बिगो भराउने पनि निर्णय लिएको छ।’

भण्डारीका अनुसार यही प्रकरणमा पक्राउ परेका अन्य दुईजना कर्णेललाई पनि कारबाही अघि बढाउने निर्णय भएको छ।शाहीले अनियमितता गरेको ठहर कोर्ट अफ इन्क्वाइरी (अनुसन्धान समिति)ले निष्कर्ष निकालेपछि दुईजना कर्णेल बुधबार समातिएका थिए। 

कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल (सैनिक अदालत) गठन गरेको थियो।यस्तोमा सैनिक मुख्यालयले शाहीसँगै अनियमिततामा जोडिएको जनाउँदै महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

‘अन्य दुई अधिकृतलाई पनि कारबाही अघि बढाउने निर्णय भएको छ’, भण्डारीले भने, ‘तर उहाँहरुलाई सेवाबाट बर्खास्तको निर्णय भएको छैन। थप पक्रिया चल्दैछ।’यसअघि शाहीबारे छानबिनका लागि सिनियर उपरथीको नेतृत्वमा कोर्ट मार्सल गठन गरिएको थियो।

शाहीमाथि सेनाले आर्थिक अनियमितताको आरोपमा कारबाही अगाडि बढाएको थियो।प्रारम्भिक अनुसन्धानमा दोषी रहेको ठहरपछि अदालती प्रक्रिया थालिएको थियो। उक्त अदालती प्रक्रियाबाट शाहीलाई दोषी मानेर संगठनबाटै निकालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *