बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक महोत्सवकाे समापन

झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ ।

गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल,व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्र कुमार सिंह , प्रकाश गौतम, बीरवहादुर धमलालाई सम्मान गरिएको हो ।

त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफ राज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।सम्मानित व्यक्तित्वको परिचय र सम्मान पत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताएका छन् । उनले दलहरूबीच असहमति भएपनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

आर्थिक संकटले क्रमिक रूपमा सबैलाई छुने बताउँदै महामन्त्री शर्माले राजनीति स्थिरताको अपेक्षा गरिएको भएपनि मुलुक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने शंसय उत्पन्न भइरहेको बताए ।आर्थिक स्थिरताको खोजी नै मुख्य मुद्दा हुनुपर्ने बताएका शर्माले व्यवसायिको मनोभावलाई उठाउने कुरामा आफू गम्भीर बनेको बताएका छन् ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा नीजि क्षेत्रको प्रवद्र्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गरेका छन् ।

महोत्सव समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, नेपाली कांग्रेसका सभापति देउकुमार थेवे, झापा उद्योग संघका अध्यक्ष याम श्रेष्ठ, वुधवारे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन कुमार मैनाली र सञ्चारकर्मी लीला अनमोलले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *