पथरीशनिश्चरेमा एउटै वडाका तीन जना किशोरीहरु पाँच दिनदेखि बेपत्ता

इटहरी । पथरीशनिश्चरे वडा नं. १ का तीन जना किशोरीहरु पाँच दिनदेखि बेपत्ता भएका छन् । गत फागुन ८ गते सोमबारदेखि हराइरहेका तीनै जनाको खोजतलासका लागि तीन जनाका परिवारले माइती नेपाल विराटनगर र पथरी प्रहरी समक्ष जाहेरी दिएका छन् ।

मोरङ्ग हस्पिटल अगाडि डेरा गरी बस्ने शिवजी साहकी छोरी १९ वर्षीया रेनुका साह ६० हजार रुपैयाँ र भारू पाँच हजार रुपैयाँसहित सोही वडाका हनुमानचोक बस्ने सरोज चौधरीक छोरी १६ वर्षीया शलिना चौधरी र रत्नचोकका दीपक धिमालकी १८ वर्षीया नर्बदा धिमाल बेपत्ता भएका हुन् ।

पञ्चयत नमूना माविमा कक्षा–९ मा अध्ययनरत् सलिना चौधरी र नर्बदा धिमाल पढ्न भन्दै स्कूलको पोशाक लगाएर फागुन ८ बिहान हिँडेको र हालसम्म पनि उनीहरू घर नफर्किएपछि परिवारले सम्बन्धित निकाय तथा सम्पूर्णमा अपिल गरेका छन् ।

बेपत्ता भएकी शलिनाका बुबा सरोज चौधरीका अनुसार मलेशियाको कुनै एक कम्पनीबाट सागर नाम गरेको एक व्यक्तिले पटक–पटक शलिनाकी साथी बनेकी रेनुकालाई म्यासेन्जरमार्फत भिडियो कलमा कुराकानी गर्ने गरेको थाह पाएर निगरानी गरेकै दिनदेखि छोरी शलिना र सोही कक्षामा पढ्ने साथी नर्वदा एकैसाथ बेपत्ता भएको बताए ।

एउटै कक्षामा पढ्ने स्कूलको पोशाक लगाएर घरबाट निस्किएका शलिना र नर्वदालाई पथरीशनिश्चरे–१ कि १९ वर्षीया रेनुका साहले फकाईफुल्याई आफुसँगै वेपत्ता पारेको सलिनाका बुबा सरोज चौधरीले बताए ।

बेपत्ता तीनै जनाको खोजीका लागि विराटनगरको माइती नेपालमा जानकारी दिइएको छ भने इलाका प्रहरी कार्यालय पथरीमा समेत जाहेरी दिई सकिएको शलिनाका बुबा सरोज चौधरीले जनाएका छन् । पीडित परिवारले पाँच दिन बितिसक्दा पनि आफ्ना छोरी नभेटिए पछि इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान गर्न माग गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *