हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन -नेता डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले सडक, पुल, भवन वा कुनै पनि भौतिक पूर्वाधारभन्दा शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा ठूलो लगानी र सम्पत्ति भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी तथा समग्र विकाससँग जोडिएका अधिकांश समस्याको दीर्घकालीन समाधान भएको उल्लेख गरेका छन् ।
हरेक वर्ष बजेटमा ठूला घोषणा गरिए पनि आजसम्मका कुनै पनि सरकारले शिक्षा, स्वास्थ्य, सीप विकास र युवा सशक्कीकरणलाई राष्ट्र निर्माणको केन्द्रमा राख्न नसकेको उनको आरोप छ। राज्यले हरेक नागरिकलाई गुणस्तरीय शिक्षाको अवसर र बिरामी हुँदा सहज, सुलभ तथा आवश्यक पर्दा निःशुल्क उपचार पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
“समृद्ध, न्यायपूर्ण, अवसरमूलक र समतामूलक राष्ट्र निर्माणको सबैभन्दा बलियो आधार नै यही हो,” डा. शर्माले भनेका छन् ।
उनले सबै कुरा एकैपटक सम्भव नभए पनि स्पष्ट लक्ष्यसहितको पाँच वर्षे कार्ययोजना बनाएर चरणबद्ध रूपमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । हरेक घरका २५ वर्षमुनिका युवालाई गुणस्तरीय प्राविधिक शिक्षाको अवसर सुनिश्चित गर्नुपर्ने, योग्य युवालाई डाक्टर, नर्स, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, आईटी तथा एआई विशेषज्ञ बन्ने वातावरण सिर्जना गर्नुपर्ने र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सफ्ट लोन वा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
युवाको हातमा शिक्षा, सीप र सम्मानजनक रोजगारी पुगेमा बेरोजगारी, गरिबी, वैदेशिक पलायन, निराशा र आत्मदाहजस्ता पीडादायी घटनाहरू उल्लेखनीय रूपमा घटाउन सकिने दाबी गर्दै उनले भने, “शिक्षामा गरिएको लगानीले समृद्ध राष्ट्रको बलियो आधार तयार गर्छ भने स्वास्थ्यमा गरिएको लगानीले स्वस्थ, सक्षम र आत्मनिर्भर नागरिक निर्माण गर्छ। यसका लागि केवल दूरदृष्टि, इमानदार नेतृत्व र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ।”
पछिल्लो समय चिकित्सा शिक्षा र समग्र शैक्षिक क्षेत्रमा हुने गरेका आन्दोलनहरूतर्फ संकेत गर्दै डा. शर्माले कुनै एक व्यक्तिको अनशन वा आन्दोलनको लहडमा हजारौँ विद्यार्थीको पढाइ प्रभावित हुनु र भविष्य अन्योलमा पर्नु लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताए । विद्यार्थीको शिक्षा र भविष्यभन्दा माथि कुनै पनि राजनीति हुन नसक्ने उनको तर्क छ।
वर्तमान सरकारलाई प्रश्न गर्दै उनले जनताले हिजोका सरकारले नगरेका काम गर्नका लागि ठूलो जनादेश दिएकाले अब बहाना बनाएर उम्किने ठाउँ नरहेको उल्लेख गरे । क्षणिक र सस्तो लोकप्रियताभन्दा देश परिवर्तनको वास्तविक आधार शिक्षित र सीपयुक्त नागरिक नै भएकाले सरकारले शिक्षा, स्वास्थ्य र मानव विकासलाई कहिले मुख्य राष्ट्रिय नीति बनाउँछ भन्दै उनले प्रश्न समेत गरे ।
