सरकारी अस्पतालमा सेवा सुधारका लागि मन्त्रालयको अनुगमन तीव्र, तत्काल सुधारका निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले नियमित अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले सोमबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा अस्पतालहरूको सेवा प्रवाह, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ। साथै अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएकोसमेत समीक्षा गर्दै आवश्यक सुधार तत्काल लागू गर्न निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा सोमबारदेखि सुलभ फार्मेसी सेवा सुरु गरिएको छ। वीर अस्पतालमा पनि यही साताभित्र सुलभ फार्मेसी सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
अनुगमनका क्रममा वीर अस्पतालले केडी जोशी बर्न युनिटको स्तरोन्नतिका लागि आवश्यक पूर्वाधार सुधारसँगै बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई विशेष तालिम सञ्चालन गरिरहेको पाइएको मन्त्रालयले जनाएको छ।
सेवा प्रवाहलाई थप सहज बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टर तीनबाट पाँचमा विस्तार गरिएको छ। साथै औषधिको उपलब्धता क्युआर (QR) प्रणालीमार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको छ। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पनि बिरामीले क्युआर प्रणालीमार्फत आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सेवाग्राहीसँग कर्मचारीको व्यवहार सुधार गर्न सबै सरकारी अस्पतालमा ‘सफ्ट स्किल’ तालिम सञ्चालन भइरहेको छ। सरकारी स्वास्थ्य संस्थालाई थप सेवाग्राहीमैत्री, व्यवस्थित र गुणस्तरीय बनाउन यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।
