युवालाई व्यवसायमा जोड्दै कटारी, ‘स्टार्ट–अप अनुदान’सहित ९७ करोडको बजेट
उदयपुर । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमशीलतामा जोड्ने महत्वाकांक्षी योजना अघि सारेको छ। नगरसभाबाट पारित बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र डिजिटल सुशासनसँगै युवा लक्षित ‘स्टार्ट–अप अनुदान’ कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
नगरपालिकाले नवप्रवर्तनशील सोच भएका युवालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यविधि बनाएर अनुदान उपलब्ध गराउने योजना ल्याएको हो। रोजगारीका अवसर सीमित भइरहेका बेला युवालाई स्वरोजगारतर्फ आकर्षित गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य नगरपालिकाले लिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ कटारीमा सञ्चालित आयुर्वेद सेवाको स्तरोन्नति गरी आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै वडा नम्बर ११ गहुँबारीमा पाँच शैय्याको नगर अस्पताल सञ्चालनको आधार तयार पारिने भएको छ। यसबाट स्थानीय नागरिकले आफ्नै क्षेत्रमा थप गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासमा पनि नगरपालिकाले महाभारत क्षेत्रका वडा नम्बर ९, १० र १३ मा बाह्रैमास सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ। संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा करिब तीन करोड रुपैयाँका सडक योजना कार्यान्वयन गरिने भएका छन्।
यसैगरी अधुरो रहेको बहुउद्देश्यीय पार्क निर्माण सम्पन्न गर्ने, बसपार्कलाई आधुनिक टर्मिनलका रूपमा विस्तार गर्ने तथा विभिन्न वडाका कार्यालय भवन निर्माण कार्य पूरा गर्ने योजना पनि बजेटमा समेटिएको छ।सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित सूचना प्रविधिको प्रयोग विस्तार, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाइने नगरपालिकाले जनाएको छ।
कटारी नगरपालिकाले गत आर्थिक वर्षमा इतिहासकै उच्च ४ करोड ७७ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा यसलाई १० करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य लिएको छ। युवा उद्यमशीलता, स्वास्थ्य सेवा विस्तार, सडक पूर्वाधार र डिजिटल सुशासनलाई केन्द्रमा राखिएको यो बजेटले कटारीलाई आर्थिक तथा सामाजिक रूपान्तरणको नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
