कृषि आधुनिकीकरण र किसानको आयवृद्धिमा सुन्दरहरैँचा नगरपालिकाको जोड

– एल.एन. गच्छदार

सुन्दरहरैँचा, मोरङ, असार ७ – सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि सार्दै उत्पादन वृद्धि, व्यवसायीकरण र किसानको आयवृद्धिमा विशेष जोड दिनुभएको छ।

नगरपालिकाले “एक वडा एक उत्पादन” अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रत्येक वडाको सम्भावना र विशेषताका आधारमा कृषि उत्पादन प्रवर्द्धन गर्ने नीति लिएको छ। अर्गानिक तथा वैज्ञानिक खेतीलाई प्राथमिकतामा राख्दै “पारीकोलाई विस्थापन, बारीकोलाई प्रोत्साहन” कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै उच्च मूल्यका रैथाने बाली, फापर, आलस, मसला लगायतका स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै विद्यालयको दिवा खाजा कार्यक्रमसँग समेत जोडिने नीति अवलम्बन गरिएको छ।

नगर प्रमुख गुरागाईंले कृषि अनुदानलाई उत्पादनसँग जोड्दै “किसानको सम्मान, उत्पादनमा अनुदान” कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ। कृषि क्षेत्रमा प्रदान गरिने अधिकांश अनुदानमा न्यूनतम ५० प्रतिशत लाभग्राहीको साझेदारी सुनिश्चित गरिनेछ भने किसानले गरेको उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषकको उत्पादन वृद्धि र लागत न्यूनीकरणका लागि माटो परीक्षण गरी प्राप्त नतिजाका आधारमा हरियो तथा जैविक मलमा सहयोग प्रदान गरिनेछ। कृषकमैत्री साना औजार तथा उपकरणमा अनुदान, कृषि मेसिन सञ्चालन तथा मर्मतसम्भार तालिम, उन्नत बीउ तथा मलको उपलब्धता र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने नगरपालिकाले जनाएको छ।

सिँचाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सतही तथा भूमिगत सिँचाइ विस्तार गरिने, कुलो, नहर, पैनी, ताल तथा बोरिङको अभिलेखीकरण र संरक्षण गरिने तथा “कृषिमा लगानी, खेतखेतमा पानी” कार्यक्रम सञ्चालन गरिने भएको छ। सिंचित बाली उत्पादन हुने क्षेत्र विस्तार गरी कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ।

माहुरीपालनलाई आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न उत्पादन क्षेत्र पहिचान गरी घार तथा आधार चाका उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। हात्ती प्रभावित क्षेत्रमा माहुरीपालन विस्तार गरिने नीति लिइएको छ। त्यस्तै, नीम, सर्पगन्धा, गुर्जो लगायत औषधिजन्य वनस्पति खेतीलाई समेत प्रोत्साहन गरिने भएको छ।

पशुपालन क्षेत्रको विकासका लागि पशुपक्षी प्रयोगशाला सेवाको विस्तार, घुम्ती पशु स्वास्थ्य सेवा, खोरेत रोग नियन्त्रण, पशु महामारीविरुद्ध खोप कार्यक्रम, रेबिज नियन्त्रण अभियान तथा पशुचौपायामा हुने बाझोपन र परजीवी न्यूनीकरणका लागि विशेष शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पशुचौपायाका लागि वर्षे र हिउँदे घाँसको बीउमा ५० प्रतिशत अनुदान दिने व्यवस्था समेत गरिएको छ।

कृषि तथा पशुपालन क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफ्टवेयरमार्फत किसान पहिचान, अनुदान तथा सामग्री वितरणको अभिलेखीकरण गरिनेछ। किसानको खेतमै Soil Health Report उपलब्ध गराउने, प्राविधिक परामर्श दिने तथा उत्पादन सुरक्षाका लागि आवश्यक प्रविधि हस्तान्तरण गरिने कार्यक्रम समेत समावेश गरिएको छ।

यसैबीच सार्वजनिक–निजी साझेदारीमार्फत वडा नं. ९ को कृषि बजार तथा वडा नं. ७ को कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापन गरिनेछ। बुधबारे कृषि बजारमा स्थानीय उत्पादनको बिक्रीका लागि निःशुल्क बिक्रीस्थल उपलब्ध गराइने भएको छ।

नगरपालिकाले कृषिलाई परम्परागत पेशाभन्दा उद्यमका रूपमा विकास गर्न उद्यमशीलता विकास तालिम, क्षमता अभिवृद्धि कार्यक्रम तथा प्राविधिक सहयोगमार्फत किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्य लिएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *