एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब बढ्दो, आज अध्यक्षले दिनेछन् जवाफ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली माथि नेतृत्व शैलीलाई लिएर दबाब बढ्दै गएको छ । अधिकांश नेताहरूले बैठकमा ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्व हस्तान्तरणको संकेत गरेपछि आजको बैठकलाई निर्णायक रूपमा हेरिएको छ । आज अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बैठक गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा बिहान साढे ११ बजे सुरु हुने जनाइएको छ ।
बैठकमा आज बोल्न बाँकी नेताहरूले आफ्नो धारणा राख्नेछन् भने त्यसपछि अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्न र टिप्पणीको जवाफ दिने कार्यसूची रहेको छ । गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली र संगठन सञ्चालनबारे धारणा राखिरहेका छन् । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको संकेत गरेका थिए ।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत ले भने ओलीको बचाउ गरेका थिए । उनीहरूले कठिन परिस्थितिमा पार्टी नेतृत्वको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार शनिबारको बैठकमा महासचिव शंकर पोखरेल ले पनि घुमाउरो शैलीमा वर्तमान अवस्थामा पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताएका थिए । उनले प्रत्यक्ष रूपमा विरोध नगरे पनि नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएको बुझिएको छ ।
शनिबारको बैठकमा उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल पनि ओलीको विपक्षमा उभिएको स्रोतको दाबी छ ।यसअघि शुक्रबार उपाध्यक्ष विष्णु पौडेल सहित चार उपाध्यक्षले पनि नेतृत्व शैलीमाथि प्रश्न उठाएका थिए ।
यद्यपि उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा देखिएका छन् । आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराई ले धारणा राख्ने कार्यक्रम रहेको छ ।
हालसम्म अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याए पनि अध्यक्ष ओली त्यसका लागि तयार नरहेको स्रोतले जनाएको छ । आजको बैठकमा सबै नेताको धारणा सुनेपछि ओलीले आफ्नो धारणा सार्वजनिक गर्ने भएकाले बैठकलाई एमालेभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशासँग जोडेर हेरिएको छ ।
