एन–प्याब्सनको विद्यालय शिक्षाको नवीनीकरण तथा रूपान्तरण विषयक प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

५० विद्यालयका १ सयभन्दा बढी सहभागी, कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता छिट्टै

एलएन गच्छदार, सुन्दरहरैंचा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय शिक्षाको नवीनीकरण तथा रूपान्तरणसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज शनिबार सम्पन्न भएको छ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित ओम साईराम पार्टी प्यालेसमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ, सुनसरी, झापा, उदयपुर लगायतका जिल्लाबाट एन–प्याब्सनमा आबद्ध ५० वटा विद्यालयका एक सयभन्दा बढी संस्थापक, प्रिन्सिपल तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन एन–प्याब्सनका केन्द्रीय अध्यक्ष सुर्यबहादुर अधिकारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले विद्यालय शिक्षालाई समयानुकूल नवीनीकरण गर्दै व्यवहारिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउने दिशामा यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा बोल्दै एन–प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले विद्यालय शिक्षामा नवीनीकरण र रूपान्तरण आजको अनिवार्य आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“शिक्षण–सिकाइ पद्धति, नेतृत्व विकास, प्रविधिको प्रयोग र विद्यार्थी–केन्द्रित शिक्षामा नवीनीकरण नगरी गुणस्तरीय शिक्षा सम्भव हुँदैन।”

कार्यबाहक अध्यक्ष खनालले छिट्टै कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिँदै शैक्षिक गतिविधिसँगै विद्यार्थीको सिर्जनशीलता र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा एन–प्याब्सन सक्रिय रहने बताउनुभयो।

एन–प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले यस्ता प्रशिक्षण कार्यक्रमहरूले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता र विद्यार्थी–केन्द्रित सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। निजी तथा आवासीय विद्यालयहरूले समयअनुसार आफूलाई नवीनीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

कार्यक्रम संयोजक तथा एन–प्याब्सन सुनसरीका अध्यक्ष खगेन्द्र केसीले प्रशिक्षणको सफल आयोजनाका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै यस कार्यक्रमले विद्यालय शिक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा एन–प्याब्सन कोशी प्रदेश सदस्य सन्तोष राई, महेन्द्र राई, जिल्ला सचिव भनिरुद्र चौधरी लगायत एन–प्याब्सनका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले तालिम विद्यालय शिक्षाको नवीनीकरण र रूपान्तरणका लागि अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *