शैक्षिक उत्कृष्टताको पहिचान बनाउँदै हिमालय इङ्ग्लिस स्कुल, एन–प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा पुनः सफलता

 

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कुलले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा आफ्नो अब्बल पहिचानलाई पुनः एकपटक प्रमाणित गरेको छ। नेशनल प्याब्सन (N-PABSAN) को आयोजनामा सम्पन्न जिल्ला स्तरीय हिज्जे प्रतियोगिता–२०२५ सफलतापूर्वक यही विद्यालयको परिसरमा आयोजना हुनु स्वयं हिमालय इङ्ग्लिस स्कुलप्रतिको विश्वास, व्यवस्थापन क्षमता र शैक्षिक गुणस्तरको स्पष्ट संकेत हो।

प्रतियोगितामा मोरङ जिल्लाभरिका १२ वटा विद्यालयबाट ३६ जना विद्यार्थीहरू सहभागी भएका थिए। विद्यार्थीहरूको भाषा दक्षता, सही उच्चारण तथा हिज्जे ज्ञानको परीक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा हिमालय इङ्ग्लिस स्कुलले तेस्रो पुरस्कार हात पार्दै प्रतिस्पर्धी विद्यालयहरूबीच आफूलाई सक्षम र प्रभावशाली शिक्षालयका रूपमा पुनः स्थापित गरेको छ।

हिमालय इङ्ग्लिस स्कुल केवल पाठ्यक्रममा सीमित विद्यालय नभई शैक्षिक क्रियाकलापसँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिमा पनि समान रूपमा जोड दिने शिक्षालयका रूपमा चिनिँदै आएको छ। विद्यालयका विद्यार्थीहरू हिज्जे, वक्तृत्वकला, खेलकुद, नृत्य, चित्रकला लगायत विभिन्न विधाका स्थानीय, क्षेत्रीय तथा जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै हरेक वर्ष कुनै न कुनै विधामा पदक तथा सम्मान हात पार्न सफल हुँदै आएका छन्।

प्रतियोगितामा विद्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने विद्यार्थी सौगात कार्की, निरज साह र मेनुका थापा, शिक्षकलाई विद्यालयले सम्मान समेत गरेको छ। यस सम्मान कार्यक्रमले विद्यार्थी र शिक्षक दुवैमा थप उत्साह र प्रेरणा थपेको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले प्रतियोगितापछि प्रतिक्रिया दिँदै भने, “हाम्रो लक्ष्य केवल परीक्षा पास गराउने होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नु हो। शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा निरन्तर जोड दिनु नै हिमालय इङ्ग्लिस स्कुलको पहिचान बनेको छ। यस्ता प्रतियोगितामा निरन्तर सहभागिता र सफलता पाउनु हाम्रो शिक्षण पद्धतिको सकारात्मक परिणाम हो।”

उनले आगामी दिनहरूमा पनि विद्यार्थीहरूलाई आत्मविश्वासी, प्रतिस्पर्धी, अनुशासित र सिर्जनशील नागरिकका रूपमा विकास गर्न विद्यालय निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारे।

स्थानीयस्तरमै शैक्षिक गतिविधिको केन्द्र बन्दै गएको हिमालय इङ्ग्लिस स्कुल आज गुणस्तरीय शिक्षा, बहुआयामिक विकास र निरन्तर उपलब्धिको उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ।

समर्पण, नवप्रवर्तन र शैक्षिक नेतृत्वका प्रतीकका रूपमा परिचित हिमालय इङ्ग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएका छन्। मलेसियामा सम्पन्न एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड कार्यक्रममा खनाललाई “उत्कृष्ट प्रिन्सिपल अवार्ड” प्रदान गरिएको थियो।यो सम्मानले हिमालय इङ्ग्लिस स्कुलको शैक्षिक गुणस्तर, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *