थारू समुदायको पीडा र संस्कृति बोल्ने चलचित्र ‘बौहरिया’को छायाङ्कन
सुन्दरहरैंचा। थारू समाजको गहिरो मर्म, संस्कार र मौन पीडालाई पर्दामा उतार्ने प्रयासस्वरूप नेपाली भाषाको कथानक चलचित्र ‘बौहरिया (बेहुली)’ को छायाङ्कन सुरु भएको छ ।
निर्देशक परशुराम चौधरीले यो चलचित्रलाई थारू समुदायको आत्मासँग जोडिएको कलाकृति बताएका छन् । उनका अनुसार, फिल्मले करिब ४ दशकअगाडि थारू समाजमा छोरा नभएको कारण महिलामाथि गरिएको अन्याय र बहुविवाहको परम्परालाई वास्तविक रूपमै प्रस्तुत गर्नेछ — जहाँ एक नारीको मौन आँसु र समाजको कठोरता एकसाथ देखिनेछ ।
चलचित्रमा मुख्य भूमिकामा कैलालीका चर्चित मोडल वीर चौधरी र नवलपरासीकी मोडल तथा नृत्याङ्गना ममता चौधरी छन् । उनीहरूबीचको सम्बन्ध, समाजको सोच र परिवारको दबाबबीच उब्जने संवेदनशील कथाले दर्शकको मन छोने निर्देशकको विश्वास छ ।
चलचित्रको कथा निर्देशक परशुराम चौधरी र रेणु चौधरीले संयुक्त रूपमा लेखेका हुन् । नेपाल म्याक्सको प्रस्तुतिमा रिशन चौधरी र खुश्बु चौधरीले संयुक्त रूपमा निर्माण गरिरहेका छन् ।
निर्देशक चौधरीका साथ रेणु चौधरी, सङ्गीता चौधरी, वीर चौधरी, मन्जय चौधरी, पुनम चौधरीलगायत कलाकारहरूले अभिनय गरिरहेका छन् ।
कोशी प्रदेशका थारू बस्ती, गाउँ–टोल र रमणीय पर्यटकीय स्थलहरूमा भइरहेको छायाङ्कनले फिल्मलाई यथार्थ र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
निर्माण पक्षका अनुसार, “यो केवल एउटा चलचित्र होइन, थारू नारीको मौन इतिहास र संघर्षको अभिलेख हो।” करिब चार महिनामा छायाङ्कन पूरा गरी दर्शकमाझ फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
‘बौहरिया’ — केवल कथामात्र होइन एक नारीको पीडा, समाजको विवशता र संस्कृतिको सुगन्ध बोकेको चलचित्र बन्ने अपेक्षा गरिएको छ ।
