स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको समाजसेवामा उल्लेखनीय योगदान
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको तेस्रो वार्षिकोत्सव सम्पन्न, समाजसेवामा उल्लेखनीय योगदान
सुन्दरहरैंचा/ स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले आफ्नो तेस्रो वार्षिकोत्सव तथा चौथो स्थापना दिवस गत जेठ २३ गते भव्य रूपमा सम्पन्न गरेको थियो । जसमा कार्यक्रमका प्रमुख अतिथि हरित बिराटनगर अभियानका संयोजक पारुल क्षेत्री, विशिष्ट अतिथि सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक उमेश उप्रेती, उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन ढुंगाना लगायतका अतिथिहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
समाजका संयोजक चिरञ्जीवी शिवाकोटीले कार्यक्रममा विगत तीन वर्षमा समाजले गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै “स्वतन्त्र नागरिक समाज कुनै पार्टी नभई सचेत र स्वतन्त्र नागरिकहरूको समूह हो” भन्ने विचार व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै नेपालीको समान पहुँचका लागि समाज क्रियाशील रहेको जानकारी दिए।
तेस्रो वर्षमा समाजका प्रमुख गतिविधिहरू :
-
असार १५ गते भट्टराई कुलबंश देवाली थानमा ७५ वटा बिरुवा रोप्दै दही–चिउरा खाने कार्यक्रम।
-
सुन्दरहरैंचा नगर अस्पतालको अनुगमन गर्दै सुधारका सुझाव प्रदान।
-
संविधान दिवसमा समानुपातिक प्रणाली खारेजको मागसहित थाल ठटाउने अभियान।
-
पूर्वाञ्चल विश्वविद्यालयलाई अस्पताल सञ्चालनमा दबाब दिने ज्ञापनपत्र।
-
१२ वटै वडामा जेष्ठ नागरिक र असहाय लक्षित ८५० थान मखलर वितरण।
-
रक्तदान कार्यक्रम आयोजना गरी २७ जनाले रक्तदान।
-
आगलागी पीडित दुई परिवारलाई नगद सहयोग।
-
विद्यालयका विपन्न विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गराउन पहल।
-
महावीर पुनको आत्मकथा बिक्रीमार्फत कृषि औजार कारखाना सञ्चालन अभियानमा सहयोग।
कार्यक्रममा चिरञ्जीवी शिवाकोटीले विगतमा समाजले गरेका विविध जनचेतनामूलक, सहयोगमूलक तथा सामाजिक अभियन्ताहरूको सराहनीय कार्यहरू प्रस्तुत गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।
सो अवसरमा उनले विभिन्न समयमा सहयोग गर्ने सल्लाहकार, सदस्य तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
समाजको मुख्य उद्देश्य
“आवाजविहीनको आवाज बन्दै शिक्षा र स्वास्थ्यमा सबै नेपालीलाई समान अधिकार दिलाउने” मुख्य उद्देश्यका साथ समाज निरन्तर क्रियाशील रहेको संयोजक शिवाकोटीले बताए।
तस्बिर/जानकारी स्रोत: स्वतन्त्र नागरिक समाज, सुन्दरहरैंचा






