सुन्दरहरैंचा नगर अस्पतालमा अब ‘Anomaly Scan’ सेवा सुरु

 

एलएन गच्छदार / सुन्दरहरैंचा,
गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सुन्दरहरैंचा नगर अस्पतालले अबदेखि ‘Anomaly Scan’ सेवा औपचारिक रूपमा सुरु गरेको छ।

नगरपालिका वडा नं. १ मा अवस्थित नगर अस्पतालमा अब १८ देखि २२ हप्तासम्मको गर्भ भएका महिलाको पेटभित्र पलिरहेको शिशुको संरचनात्मक अवस्थाको विस्तृत जाँच गरिनेछ। यो स्क्यान प्रक्रियामार्फत शिशुमा कुनै पनि प्रकारका जन्मजात असामान्यता—जस्तै मस्तिष्क, मुटु, मेरुदण्ड, अंगहरू आदिमा गम्भीर विकृति छन् कि छैनन् भन्ने पहिचान गर्न सकिनेछ।

अस्पतालका अनुसार Anomaly Scan सेवा सुरु भएपछि गर्भकालमै गम्भीर स्वास्थ्य समस्या समयमै पत्ता लगाई आवश्यक सल्लाह तथा उपचार गर्न सकिनेछ। यसले गर्भवती आमा र भ्रूण दुवैको जीवन र स्वास्थ्य सुरक्षामा ठुलो योगदान पुर्‍याउनेछ।

नगर अस्पताल प्रशासन प्रमुख बाबुराम भट्टराईले नगर अस्पतालले यो सेवा नगरवासीहरूका लागि सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *