पूर्वाञ्चल विश्वविद्यालय बन्द हडताल निषेधित क्षेत्र घोषणा गर्न दलहरूको सामूहिक प्रतिबद्धता

 

मोरङ, गोठगाउँ — बारम्बारको बन्द, हडताल र तालाबन्दीले शिक्षा क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको पूर्वाञ्चल विश्वविद्यालयलाई बन्द हडताल निषेधित क्षेत्र घोषणा गर्न प्रमुख राजनीतिक दलहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

स्थानीय सरोकारवाला दल तथा नागरिकहरूको सहभागितामा भएको छलफलपछि बन्द हडताल निषेध गर्ने निर्णय लिइएको हो। विश्वविद्यालय सरोकार समाजका अध्यक्ष रञ्जन ओझाका अनुसार, यो प्रतिबद्धता शैक्षिक वातावरणलाई स्थायित्व दिनका लागि गरिएको हो।

“पूर्वाञ्चल विश्वविद्यालय शैक्षिक केन्द्र मात्र होइन, सामाजिक नेतृत्व विकासको पनि केन्द्र हो,” अध्यक्ष ओझाले भने, “सम्पूर्ण दलहरूको साझा पहल सकारात्मक छ।”

यद्यपि केन्द्रीय कार्यालय गोठगाउँमै भए पनि अझै पूर्ण रूपमा प्रशासनिक काम त्यहीँबाट सञ्चालन नहुनुमा दलहरूले चासो व्यक्त गरेका छन्।

प्रतिनिधि दलहरूले प्रस्तुत गरेको १० बुँदे प्रतिबद्धता र सुझावमा मेरिटका आधारमा पदाधिकारी चयन, संरचना मर्मत तथा सौन्दर्यीकरण, सामाजिक उद्यमशीलता प्रवर्द्धन, र मेडिकल कलेज सञ्चालनको माग समावेश छन्।

ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस सुन्दरहरैचाका सभापति भक्तिप्रसाद सिटौलाले विश्वविद्यालयले उत्तरी मोरङ मात्र नभई समग्र कोशी प्रदेशको प्रतिष्ठा बढाएको बताए। “राजनीतिक हस्तक्षेपभन्दा पनि यहाँ प्राज्ञिक बहसको खाँचो छ,” उनले भने।

प्रतिबद्धता जनाउने दलहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत रहेका छन्। यी सबै दलहरूको प्रयासले विश्वविद्यालयमा शान्त, स्थिर र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *