बिचौलियाहरूको षड्यन्त्रले निजी मेडिकल कलेजहरू धराशायी बन्ने खतरा : सांसद डा. सुनिल शर्मा
काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले निजी मेडिकल कलेजहरूलाई योजनाबद्ध रूपमा धराशायी बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले केही बिचौलियाहरूको योजनाका कारण निजी मेडिकल कलेजहरू संकटमा पर्ने अवस्था आएको बताएका हुन्।
“४८ हजार तिर्न समस्या छैन, कलेज त तिर्न तयार छन्,” शर्माले भने, “तर नियोजित रूपमा समस्या खडा गरेर भर्ना प्रक्रिया रोक्ने, एडमिसन दिन नदिने, अर्को वर्ष सिट घटाउने र यसै बहानामा विद्यार्थीहरूलाई विदेश जान बाध्य बनाउने योजना अघि सारिएको छ।”
उनका अनुसार, हाल कलेजहरूले एमडी/एमएस तहमा ८०–१०० सम्म सिट पाउँदै आएका छन्, तर वर्तमान बाध्यकारी व्यवस्था लागू भएमा आगामी वर्षमा त्यो संख्या घटेर १५ सम्ममा सीमित हुने खतरा छ। “यसको असर सिधै ७ सयदेखि ८ सय विद्यार्थीलाई पर्छ, जो एमडी/एमएस पढ्नबाट वञ्चित हुनेछन्,” उनले स्पष्ट पारे।
सांसद शर्माले निजी मेडिकल कलेजहरूको योगदानलाई नकार्न नहुने धारणा राख्दै, स्वदेशमै चिकित्सा शिक्षा सुलभ बनाउन निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउनु पर्नेमा जोड दिए। उनले नेपालभित्र चिकित्सा शिक्षालाई तहसनहस पार्ने नियोजित गतिविधिबाट सावधान रहन आग्रह गरे।
डॉ. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले तलब भत्ता नलिने घोषणा गरेका छन्। उनले देशका सातवटा स्थानमा आफ्नै पहलमा एम्बुलेन्स प्रदान गरिसकेका छन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचार गराउँदै आएका छन्।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिनसमेत स्थापना गरिएको छ। सेवा प्रवाहमा कुनै दल, वर्ग वा भूगोलको आधारमा भेदभाव नगर्ने शर्माले हालै मात्र बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्।






