जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा छलफल
पथरी शनिश्चरे समाचारदाता, भदाै-२५ गते
माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नं. १० जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा छलफल गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा भएको सो छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ ।
वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल सञ्चालनमा रहेको सडक व्यक्तिको नाममा स्रेस्ता रहेको जग्गामा रहेको र पुनः सडक विस्तार हुने क्रममा सडकको दाया बायाँ क्षेत्र लिंदा सडकको उत्तर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु सडक विस्तारबाट प्रभावित हुने अवस्था रहेकोले आयोजनासँग सम्वन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित गुनासो सुनुवाई समितिमा जिरिखिम्तीको जग्गामा देखिएको यावत समस्याको छलफल गर्ने गरी अनुरोध गरिने निर्णय गरियो । यसैगरी सो समितिबाट सरोकारवाला समेतको छलफलबाट समस्याको उचित समाधानको लागि छलफल गरी निष्कर्षमा पुग्ने सो कार्यका लागि प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरिने निर्णय गरियो । यस्तै उक्त समस्याको समाधान सम्वन्धमा छलफल नभएसम्म डाँसखोला र मोरङ्गी खोलाको बीचको क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि नबढाउने निर्णय गरियो ।
सो छलफलमा इलाका प्रशासन कार्यालयका उपसचिव रुद्रप्रसाद न्यौपाने, मालपोत कार्यालय बेलबारीका मदन घिमिरे, नापी कार्यालय बेलबारीका प्रशान्त घिमिरे, आयोजना प्रमुख इटहरीका जगत प्रजापति, वडा अध्यक्ष जीवन खतिवडा, आयोजना कार्यालयका इन्जिनियर पल्लव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।