प्रचण्डको नेतृत्वमा कांग्रेस बस्नु नहुने – प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा
नेपाली कांगेसका महासमिति सदस्य एवंम् मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले प्रचण्डको नेतृत्वमा कांग्रेस बस्नु नहुने बताउनुभएको छ।
नेपाल प्रेस युनियन खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै कांग्रेसले सरक्कै सरकार छोड्नुपर्ने कि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने कि त प्रतिपक्षमा बस्नुपर्ने बताउनुभयो।
कांग्रेसका निम्ति प्रचण्ड फलिफाप छैन, गिरिजाबाबु र प्रचण्डलाई पहिलो पटक वार्ता गराउने म हुँ जीवितै छु। प्रचण्डले गिरिजाप्रसादलाई पनि झुक्याएकै हो । प्रचण्डले कहिले ओलीलाई चिटिङ गर्छ, कहिले गिरिजाबाबुलाई गरे। शेरबहादुर दाईलाई कुनबेला चिटिङ गर्छ टुंगो छैन। शर्माले भन्नुभयो।
म आफै कांग्रेसको सांसद, सत्ताधारी सांसद हुँ, म के भन्छु भने, ‘यो सरकारले नेपाली जनताको पक्षमा काम गर्न सकेको छैन। त्यसकारण प्रचण्डको नेतृत्वमा कांग्रेस बस्नु हुँदैन।’ माओवादीसँग चुनावसम्म मात्रै गठबन्धन भएको र माओवादी नेतृत्व सरकारले देशको समस्या समाधान गर्न नसक्नाले यो गठबन्धन चेन्ज गर्नुपर्ने उहाँको भनाई थियो।
नेपाली राजनीतिमा प्रचण्ड बेइमान नेता हो। उनले आफ्नो राजनीतिक स्वार्थका लागि जे पनि गर्छन्। पहिला जनयुद्धमा जातिय कुरा उठाएर रोल्पादेखि ताप्लेजुङसम्मका सोझासाझा जनजातिलाई बन्दुक बोकाए। शर्माले भन्नुभयो, ‘अहिले त्यही पहिचानको कुरा उठाउनेलाई यीनले बुट र बुलेट प्रयोग गरिरहेका छन्। त्यसकारण यस्ता बेइमान मानिसको पछि कुद्नु हुदैन । कांग्रेस जिम्मेवार पार्टी हो, कांगेसले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्छ।’
खोटाङका कार्यकर्ता भेटघाटपछि खोटाङ कांग्रेसमा आन्तरिक समस्या रहेको र समस्यालाई केन्द्रले चाँडै समाधान गर्ने उहाँको भनाई छ। शर्मा बिहीबार नै काठमाण्डौ फर्कनुभएको छ।




