नगरप्रमुख आचार्यको पहलमा ईश्वरपुर नगर अस्पताललाई करिब तीन करोडका अत्याधुनिक स्वास्थ्य उपकरण
सुन्दरहरैचा (मोरङ) – सर्लाहीको ईश्वरपुर नगरपालिका–बयलवासस्थित ईश्वरपुर नगर अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले करिब तीन करोड रुपैयाँ बराबरका २१३ प्रकारका अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त गरेको छ। उक्त सामग्री हेल्पिङ ह्यान्ड संस्थाले नगरपालिकालाई हस्तान्तरण गरेको हो।
स्वास्थ्य उपकरण हस्तान्तरणसँगै नगर अस्पतालको सेवा क्षमता विस्तार हुने तथा स्थानीय नागरिकले आफ्नै नगरभित्र सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले यो सहयोगलाई नगरको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गर्दै अब सामान्य उपचारका लागि पनि नागरिकले जिल्ला बाहिर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “नगरवासीलाई आफ्नै नगरभित्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न दातृ निकायसँग निरन्तर समन्वय र पहल गर्दै आएका थियौं। त्यसैको परिणामस्वरूप आज नगर अस्पतालले करिब तीन करोड रुपैयाँ बराबरका अत्यावश्यक उपकरण प्राप्त गरेको छ।”
नगरप्रमुख आचार्यका अनुसार प्राप्त उपकरणमध्ये अत्यावश्यक सामग्री तत्काल नगर अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइनेछ भने बाँकी सामग्री आवश्यकताका आधारमा नगरभित्रका स्वास्थ्य चौकीहरूमा वितरण गरिनेछ। यसबाट सबै वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
उहाँले नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा लिँदै अस्पतालको भौतिक पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा उपकरण विस्तारमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्नुभयो। नयाँ उपकरण थपिएसँगै अस्पतालको सेवा क्षमता अझ प्रभावकारी र प्रविधिमैत्री बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोका अनुसार प्राप्त २१३ प्रकारका सामग्रीमा विभिन्न उपचार उपकरण, प्रयोगशाला सामग्री, परीक्षणका उपकरण तथा अस्पताल सञ्चालनका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री समावेश छन्। ती उपकरणले उपचार सेवाको गुणस्तर सुधार गर्नुका साथै स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेलले ग्रामीण क्षेत्रका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र सुधारप्रति ईश्वरपुर नगरपालिकाले देखाएको सक्रियता र प्रतिबद्धताले संस्थालाई सहयोग गर्न प्रेरित गरेको उल्लेख गर्नुभयो।
नगरप्रमुख आचार्यले यो सहयोग उपकरण हस्तान्तरणमा मात्र सीमित नरहने स्पष्ट पार्दै आगामी दिनमा नगर अस्पताललाई थप व्यवस्थित, प्रविधिमैत्री र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। स्वास्थ्य सेवा सुधारका लागि दातृ निकाय तथा विभिन्न संघसंस्थासँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको प्रतिबद्धता थियो।
स्थानीयवासीले पनि नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण भित्रिनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। उनीहरूले यसबाट ईश्वरपुर नगरपालिकाका नागरिक मात्र नभई आसपासका स्थानीय तहका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
करिब तीन करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त भएसँगै ईश्वरपुर नगर अस्पताल ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियानमा थप सशक्त बनेको नगरपालिकाले जनाएको छ।
