विराटनगरमा अभिषेक गिरीको घरमा प्रहरीको छापा, अवैध हतियारको आशंकामा खानतलासी
विराटनगर । मोरङ प्रहरीले शनिबार बिहान विराटनगरका अभिषेक गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा खानतलासी गरेको छ।
विशेष सूचनाका आधारमा बिहान झिसमिसेदेखि नै प्रहरीले गिरीको घरलाई घेरा हालेर सर्च अपरेसन सञ्चालन गरेको हो। प्रहरी टोलीले घरभित्र शंकास्पद सामग्री वा अवैध हतियार रहेको हुन सक्ने आशंकामा विस्तृत खोजतलास गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले शंकास्पद वस्तु रहेको सूचनाका आधारमा खोजी कार्य भइरहेको पुष्टि गरे। उनका अनुसार अनुसन्धान जारी रहेकाले विस्तृत विवरण अनुसन्धानको निष्कर्षपछि मात्रै सार्वजनिक गरिनेछ।
प्रहरी स्रोतका अनुसार हालसम्म बरामद भएका सामग्रीबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। अनुसन्धान प्रक्रिया जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
अभिषेक गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। कारागारबाट छुटेपछि पनि उनी विभिन्न विवादका कारण सार्वजनिक चर्चामा आउने गरेका छन्। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ।
यस घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले थप तथ्य सार्वजनिक भएपछि प्रहरीले आधिकारिक जानकारी दिने जनाएको छ।
