इटहरीले बजेटको आकार घटायो, आगामी आवका लागि २ अर्ब ५२ करोड २८ लाखको बजेट अनुमान

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरको १८औँ नगरसभामा उपप्रमुख सङ्गीता कुमारी चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै आगामी वर्षको विकास योजना, सेवा प्रवाह सुधार तथा राजस्व व्यवस्थापनका प्राथमिकताहरू सार्वजनिक गरेकी हुन्।

यस वर्षको बजेट चालु आर्थिक वर्ष २०८२र०८३ को तुलनामा २ करोड ९२ लाख ३० हजार रुपैयाँले कम रहेको छ। चालु आर्थिक वर्षका लागि इटहरीले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। बजेटको आकार केही घटे पनि नगरपालिकाले विकास निर्माण, पूर्वाधार विस्तार तथा आर्थिक अनुशासनलाई केन्द्रमा राखेर योजना अघि बढाउने जनाएको छ।

नगरसभामा प्रस्तुत बजेट अनुसार आगामी वर्ष भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सडक, नाला, पुल, सार्वजनिक भवन, खानेपानी, शहरी व्यवस्थापन तथा अन्य आधारभूत पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विकास आयोजनामा बजेट केन्द्रित गरिएको उपमहानगरपालिकाको दाबी छ।

बजेटको स्रोततर्फ सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा उल्लेख्य रकम प्राप्त हुने अनुमान गरिएको छ। सङ्घीय समानीकरण अनुदानबाट २८ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै सङ्घीय सशर्त अनुदान अन्तर्गत चालु खर्चका लागि ४९ करोड ७० लाख रुपैयाँ तथा पुँजीगत खर्चका लागि ४९ करोड १८ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। सङ्घीय विशेष अनुदानबाट थप ५ करोड रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पनि नगरको आयस्रोतको महत्वपूर्ण हिस्सा रहनेछ। प्रदेश समानीकरण अनुदान अन्तर्गत २ करोड ७५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सशर्त अनुदान अन्तर्गत चालु खर्चका लागि १ करोड ३७ लाख ७० हजार रुपैयाँ र पुँजीगत खर्चका लागि ३ करोड २३ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ।

राजस्व बाँडफाँडबाट पनि नगरले उल्लेख्य रकम प्राप्त गर्ने लक्ष्य राखेको छ। सङ्घीय राजस्व बाँडफाँडबाट १९ करोड ९८ लाख ५७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश राजस्व बाँडफाँड अन्तर्गत सवारी करबाट २ करोड २२ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। स्थानीय राजस्व बाँडफाँड अर्थात् मालपोत शीर्षकबाट २५ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ।

उपमहानगरपालिकाले आन्तरिक आय वृद्धिलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट मात्रै ५६ करोड ३० लाख ४० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै राजस्व सङ्कलनको दायरा विस्तार गर्ने योजना नगरले अघि सारेको छ।

विकास निर्माणका ठूला आयोजना सञ्चालन तथा वित्तीय व्यवस्थापनका लागि नगर विकास कोषबाट ८ करोड ८० लाख रुपैयाँ ऋण प्राप्त गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।

खर्चतर्फ हेर्दा चालु खर्चका लागि ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३७ दशमलव ५९ प्रतिशत हो। प्रशासनिक खर्च, कर्मचारी तलबभत्ता, सेवा सञ्चालन तथा नियमित कार्यक्रमहरू यही शीर्षकबाट सञ्चालन गरिनेछ। यस्तै वित्तीय व्यवस्थाअन्तर्गत साँवा तथा ब्याज भुक्तानीका लागि १ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ।

पुँजीगत खर्चतर्फ भने सबैभन्दा ठूलो हिस्सा विनियोजन गरिएको छ। विकास निर्माण र पूर्वाधार विस्तारका कार्यक्रमका लागि १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ। साथै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, वातावरण, युवा तथा खेलकुदलगायत विभिन्न विषयगत क्षेत्रका कार्यक्रम सञ्चालन गर्न २६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटले नगरको दिगो विकास, आर्थिक अनुशासन, राजस्व सुदृढीकरण र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ। सीमित स्रोतसाधनका बाबजुद नगरवासीको अपेक्षा सम्बोधन गर्दै पूर्वाधार विकासलाई तीव्रता दिने, सुशासन प्रवर्द्धन गर्ने तथा स्थानीय तहको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बजेटमार्फत व्यक्त गरिएको छ।

नगरसभामा प्रस्तुत बजेटमाथि अब विस्तृत छलफल हुने र आवश्यक सुझाव तथा संशोधनपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ। इटहरीको आगामी वर्षको विकासको दिशालाई निर्धारण गर्ने यो बजेटले नगरको आर्थिक तथा भौतिक विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *