झापामा नगर प्रहरीलाई विपद् प्रतिकार्य तालिम, स्थानीय उद्धार क्षमता बलियो बनाउने लक्ष्य
झापा । मनसुनजन्य विपद्को जोखिम बढ्दै गइरहेका बेला झापामा नगर प्रहरीलाई लक्षित गर्दै सातदिने विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। विपद्का समयमा स्थानीय स्तरमै दक्ष जनशक्ति परिचालन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा पाँच नगरपालिकाका २० जना नगर प्रहरी सहभागी छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा, झापामा तालिम सञ्चालन गरिएको हो।
असार १५ गतेसम्म चल्ने तालिममा मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई र भद्रपुर नगरपालिकाबाट चार–चार जनाका दरले नगर प्रहरी सहभागी भएका छन्। तालिममार्फत उनीहरूलाई समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिन सक्ने दक्ष स्वयंसेवकका रूपमा तयार पारिने लक्ष्य राखिएको छ।
सशस्त्र प्रहरी बल नं. २ गण हेक्वाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार तालिममा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार, आपत्कालीन प्रतिकार्य तथा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
उनले विपद्का घटनामा सबैभन्दा पहिले स्थानीय तहकै जनशक्ति घटनास्थलमा पुग्ने भएकाले नगर प्रहरीलाई उद्धार, राहत तथा प्रारम्भिक व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। तालिमले स्थानीय तहको विपद् व्यवस्थापन क्षमता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारीशिवराम गेलाल, सशस्त्र प्रहरी बल नं. २ गण हेक्वाका गणपति अम्बिकाप्रसाद जोशी, सशस्त्र प्रहरीका अधिकृत तथा जवान र सहभागी नगर प्रहरीको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले विपद् व्यवस्थापन कुनै एक निकायको जिम्मेवारी मात्र नभई स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयबाट मात्र प्रभावकारी बन्न सक्ने बताए। उनले विपद्को समयमा प्रारम्भिक उद्धार तथा राहत कार्यमा दक्ष स्थानीय जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालिमले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बाढी, डुबान, पहिरो, चट्याङलगायत मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला सञ्चालन गरिएको यो तालिमलाई स्थानीय तहको पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। तालिमपछि प्रशिक्षित नगर प्रहरीले आफ्ना पालिकामा समुदायसँग समन्वय गर्दै विपद् व्यवस्थापनका गतिविधिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
