दमकको बालाजी फर्निसिङमा आगलागी, लाखौंको क्षति

झापा । झापाको दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा शनिबार आज साँझ आगलागी भएको छ ।त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन् । स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए । आगजनीबाट लाखौँ मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । यही माघ १ गते दमक–६ कै नमूना बजारका छवटा पसलमा आगजनी हुँदा रु दुई करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ