सडक पेटीमै जीवनको संघर्ष : मकै पोल्दै आशा बाँडिरहेका ६७ वर्षीय रामबहादुर जोगी
एलएन गच्छदार / सुन्दरहरैंचा
बेलबारी नगरपालिका–१० भाउन्ने निवासी रामबहादुर जोगी उमेरले ६७ वर्षका भए। बुढ्यौलीले शरीर थकित बनाउँदै लगे पनि उनको जोस, जाँगर र जीवनप्रतिको लगाव अझै उस्तै छ। विगत एक दशकभन्दा बढी समयदेखि उनी सडक पेटीमै मकै पोल्दै जीवन धानिरहेका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको एसियन हाइवेमा पर्ने भाउन्ने नजिक उनलाई प्रायः देख्न सकिन्छ। मकैसँगै फापर, नरिवलको पानीलगायतका सामग्री बिक्री गर्दै उनी दिन बिताउँछन्। बिहानदेखि साँझसम्मको उनको दिनचर्या यही सानो व्यवसायमै सीमित छ।
रामबहादुरका दुई छोरा वैदेशिक रोजगारीमा छन्। घरमा एक्लोपन भए पनि समय बिताउन र आत्मसम्मानका साथ बाँच्न उनले यो व्यवसायलाई निरन्तरता दिएका हुन्। “समय बिताउन मात्रै होइन, राम्रो आम्दानी पनि हुन्छ,” उनी सन्तोषका साथ भन्छन्।
राजनीतिक कुराकानी निस्कँदा उनी स्पष्ट विचार राख्छन्। “देशलाई हर्क साम्पाङ, बालेन शाह, डा. सुनिल शर्माजस्ता निस्वार्थ नेता चाहिन्छ,” उनी भन्छन्, “तलब–भत्ता नलिई जनताको सेवा गर्ने नेता नै असली नेता हो।” मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने डा. सुनिल शर्माजस्ता नेताको खुलेर प्रशंसा गर्छन् उनी।
सडक पेटीमै पसिना बगाइरहेका रामबहादुर जोगीको कथा केवल एउटा व्यक्तिको संघर्ष मात्र होइन, श्रम, आत्मनिर्भरता र स्वाभिमानको प्रतीक हो। बुढेशकालमा पनि हार नमानी जीवनसँग लडिरहने उनको संघर्ष धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।




