विराटनगर / विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) ले ५६ जना विद्यार्थीलाई करिब २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ।
शनिबार आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दै छात्रवृत्ति वितरण गरेको हो। विद्यालयका अनुसार नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ३८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। ती विद्यार्थीहरूले आ–आफ्नो कक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए।
त्यसैगरी, २०८२ सालको एसईई परीक्षामा ४ जिपिए ल्याउन सफल १८ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका निर्देशक प्रकाशकुमार खरेल ले विराटनगर शैक्षिक केन्द्रका रूपमा विकास भइरहेको अवस्थामा विकेभिएमले आफ्नै विशिष्ट पहिचान बनाउन सफल भएको बताए। उनले विद्यालयले विद्यार्थीको शैक्षिक, व्यवहारिक तथा अतिरिक्त क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे।
विद्यालयका प्रिन्सिपल रविनकुमार दाहाल ले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा उच्च शिक्षाका लागि शुभकामना व्यक्त गर्दै अन्य विद्यार्थीलाई पनि अध्ययनप्रति समर्पित हुन आग्रह गरे। कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।