इप्रका नेमुवाद्वारा K–9 कुकुर परिचालनसहित सुरक्षा चेकिङ
सुन्दरहरैंचा , कार्तिक २५ गते
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनअनुसार मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा इल्लाका प्रहरी कार्यालय (इप्रका) नेमुवाले तालिम प्राप्त कुकुर (K-9) सहित विशेष ट्राफिक चेकिङ सञ्चालन गरेको छ्।
आज मंगलबार कार्तिक २५ गते दिउँसो ३:४५ बजेदेखि सुरु गरिएको उक्त चेकिङमा इप्रका नेमुवाबाट प्रहरी नायव निरिक्षक अशोक कार्कीको कमाण्डमा ११ जना प्रहरीको टोली सहभागी थियो। सोहीसँगै K-9 शाखा विराटनगरबाट प्रहरी सनि दिलबहादुर लिम्बुको नेतृत्वमा दुईवटा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो।
चेकिङ कोशी लोकमार्ग अन्तर्गत इप्रका नेमुवाबाट दक्षिणतर्फ झण्डै एक किलोमिटर दूरीमा पर्ने नेमुवा चोक नजिकै सञ्चालन गरिएको थियो। चेकिङ कार्यमा कुनै आपत्तिजनक वस्तु वा गतिविधि फेला नपरेको प्रहरीले जनाएको छ।
उक्त चेकिङ साँझ ५:०५ बजे सम्पन्न गरिएको इप्रका नेमुवाका प्रभारी प्रहरी सहायक निरीक्षक (प्रह.) अनुप दाहालले जानकारी दिए।
प्रहरीका अनुसार यस किसिमका नियमित र विशेष चेकिङहरूले अवैध ओसार–पसार, आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुरक्षा प्रभावकारी बनाउन सहयोग पुर्याइरहेको छ।
