बाल सदन एकेडेमीमा ‘हस्तकला बोल्यो’ – विद्यार्थीको सिर्जनशीलताले सजियो विश्व सम्पदाको कथा
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिका–९ मा अवस्थित बाल सदन एकेडेमीले शुक्रबार सम्पन्न गरेको हस्तकला प्रदर्शनीले विद्यालय मात्र होइन, सम्पूर्ण समुदायको ध्यान खिच्यो। सामाजिक अध्ययन विषयअन्तर्गत आयोजित यस विशेष प्रदर्शनीमा नेपाल तथा विदेशका विश्व सम्पदा सूचीमा रहेका १६ महत्वपूर्ण सम्पदाहरूलाई विद्यार्थीहरूले आफ्नै हातको कलाले जिवन्त उतारे।
चार हाउसका विद्यार्थीहरू कक्षा ६ देखि १० सम्मले १५ दिनको अथक मेहनतपछि तयार पारेका हस्तकलाले न केवल कला देखाए, बरु इतिहास, संस्कार र पहिचानको गहिरो बोध पनि झल्काए। चितवन राष्ट्रिय निकुञ्ज, पशुपतिनाथ मन्दिर, पाटन दरबार, स्वयम्भू क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, चीनको ग्रेट वालजस्ता सम्पदाहरूको चित्रण हेर्दा जस्तो लाग्थ्यो, चित्र बोलिरहेका छन्।
कार्यक्रममा बोल्दै प्याब्सन सुन्दरहरैंचा नगर अध्यक्ष दिपक क्षेत्रीले भने, “बाल सदनले गरेको यो कार्य उदाहरणीय छ। किताबमा मात्र सीमित ज्ञानलाई व्यवहारमा उतार्दा यस्तो सशक्त प्रस्तुति सम्भव भएको हो।”
विद्यालयका प्रिन्सिपल निरज ढकालले बताए, “विद्यार्थीहरूले सिर्जनशीलता र अध्ययनलाई एकसाथ जोडेका छन्। यो प्रदर्शनीले उनीहरूमा सामाजिक चेत र सांस्कृतिक मर्म बुझ्ने क्षमता थप बलियो बनाएको छ।”
प्रदर्शनीमा बिभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थिति थियो। सांस्कृतिक झल्किने पोशाकमा सजिएका विद्यार्थीहरूका कारण कार्यक्रम अझै रंगीन बनेको थियो।
विद्यालयका प्रबन्ध निर्देशक सुर्य दंगालले सम्पदाको संरक्षणमा राज्य र समाज दुवैको ध्यान आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीले पुस्तापुस्तासम्म सन्देश पुर्याउने बताए। निर्णायकमण्डलका सदस्य तथा प्रभात किरण इङ्ग्लिस स्कुलका प्रिन्सिपल राम प्रसाद आचार्यले सामाजिक विषयमा आधारित परियोजना कार्यको उच्च मूल्यांकन गर्दै सबै समूहको प्रस्तुति उत्कृष्ट रहेको टिप्पणी गरे।
