सुन्दरहरैंचाको खवास समुदायद्वारा संन्सारी पूजा सम्पन्न, संस्कार र सांस्कृतिक पहिचानको संरक्षणमा जोड

एलएन गच्छदार/ सुन्दरहरैंचा 

 मोरङको सुन्दरहरैंचा नगरपालिका–२ जोगियारेमा बसोबास गर्दै आएको खवास समुदायले परम्परागत ‘संन्सारी पूजा’ विधिवत रूपमा सम्पन्न गरेको छ। खोलाको किनार नजिक पूजा सामग्रीसहित सामूहिक रूपमा सम्पन्न गरिएको यस पूजामा गाउँका सबै सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो।

संन्सारी पूजा थारु, खवास, राजबंशी लगायत विभिन्न आदिवासी जनजाति समुदायहरूको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा हो। यस पूजाले गाउँ–घरको रक्षार्थ संन्सारी देवतालाई प्रसन्न पार्ने विश्वास रहिआएको छ। गुरुवा रामलाल गच्छदारका अनुसार, संन्सारी देवता गाउँका रक्षक मानिन्छन्। “गाउँमा रोग, महामारी, प्राकृतिक प्रकोप र अन्य संकटबाट जोगिनका लागि संन्सारी पूजा गरिन्छ,” उनले भने, “देवता प्रसन्न भए खेतीपाती राम्रो हुने, परिवारमा शान्ति र समृद्धि आउने जनविश्वास छ।”

चैत महिनालाई वर्षको अन्तिम महिना मानेर नयाँ वर्ष (बैशाख) सुरु हुनुअघि गाउँ शुद्ध पार्न, पुराना समस्या हटाउन र नकारात्मक शक्तिहरू हटाउन यो पूजा गरिन्छ। संन्सारी पूजामा रूख, ढुंगा, खोला, तलाउ, र अन्य प्राकृतिक स्रोतहरूलाई देवताको रूपमा पूजा गरिन्छ, जसले प्रकृतिप्रतिको श्रद्धा र संरक्षणको भावनालाई झल्काउँछ।

गाउँको पुरोहित (गुरुवा/धामी) ले पूजाको अगुवाइ गर्ने यो संस्कारमा बलि (कुखुरा, परेवा, बोका) दिने परम्परा रहेको छ। यसरी दिइने बलि शुद्धिकरण र देवता प्रसन्नताको प्रतीक हो। पूजामा परम्परागत गीत, नाच, बाजा र खाना विशेष आकर्षण हुन्। यद्यपि, आधुनिक प्रभावका कारण यस्ता बाजा र गीतहरू अब कमै मात्रामा सुनिन थालेका छन्।

पूजापछि महिलाहरूले तीन दिनसम्म साँझबाति गरेर नदी, तलाउ, खेत र कुल देवतालाई दीप प्रज्वलन गर्दै श्रद्धा अर्पण गर्ने प्रचलन अझै कायम रहेको छ।

संन्सारी पूजाले समुदायभित्रको आपसी एकता, सद्भाव र सामाजिक सम्बन्धलाई बलियो बनाउँदै परम्परागत संस्कृति र पहिचान जोगाउने महत्वपूर्ण कडीको काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *