तीन दिवसीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सुरू
पथरी शनिश्चरे , माघ-२३ गते
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन भएको छ ।
आज वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले भलिबल रेफ्रीलाई दिएर र छेलो हानी खेलको उद्घाटन पनि गर्नुभयो ।
यसैगरी प्रमुख अतिथि तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ विद्यार्थीहरुको एउटा सुवर्ण अवसर हो यस कार्यक्रमलाई सबै मिलेर सफल बनाउन आग्रह गर्दछु ।’
नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा वडा अध्यक्षहरु भीम राई, नविन कार्की, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य विरध्वज शिवा, नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिप कुमार राई (किशोर), पञ्चायत माविका वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, सुनाखरी माविका वि.व्य.स.अध्यक्ष प्रदिपकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालयका प्रधानाध्यापकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सो प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।
आज सम्पन्न भएका हाईजम्प तर्फ बुद्ध माविका छात्र मौसम विक प्रथम र भागिरथ माविका छात्र जितबहादुर प्रधान दोस्रो स्थान हासिल गर्न सफल भए भने छात्रा तर्फ प्रथम पञ्चायत माविकी सरु तामाङ र दोस्रो बुद्ध माविकी विपना आचार्य भईन । यसैगरी ज्याप्लिन थ्रो प्रतियोगितामा माविकी छात्रा विपना आचार्य प्रथम भइन्।। यस्तै, छेलोतर्फ बुद्ध माविको छात्र हेमराज तामाङ र जनता माविका छात्र सायल राई भए भने छात्रातर्फबाट सिंहवाहिनी माविकी छात्रा अन्जु चौहान र अमरसिंह माविकी सुशीला दर्नाल प्रथम र द्वितीय भए । आज छात्रातर्फ नकआउट पहिलो चरणको खेल भएको थियो। विजेता छात्र छात्राहरूलाई पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, सिंहवाहिनी प्रधानाध्यापक उमेश खड्का लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गर्नुभएको पथरी शनिश्चरे राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सचिवालय सह – संयोजक बलराम तिम्सिनाले जनाउनुभयाे।





