क्वेष्टमा विद्यार्थी परिषद् गठनसँगै पदस्थापन तथा स्वागत कार्यक्रम

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरी इंगलिस स्कुलको शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद् गठनसँगै पदस्थापन गरिएको छ । प्रजातान्त्रिक पद्धतिबाट विद्यार्थीद्वारा मतदान गरेर निर्वाचित भएको परिषद्को मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले जानकारी दिए ।

वास्तविक निर्वाचनको झल्को दिने किसिमले सम्पन्न निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ३ सय भन्दा बढी विद्यार्थीहरुले आ-आफ्नो ‘सदन’अन्तर्गत रहेर मतदान गरेका थिए । मतदान प्रक्रियाद्वारा ‘हाउस क्याप्टेन’, ‘हाउस भाइस क्याप्टेन’ स्कुल क्याप्टेन तथा स्कुल भाइस क्याप्टेनहरु निर्वाचित भएका थिए ।

पदस्थापन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल क्षेत्रीलेले परिषद्को सफल कार्यकालको शुभकामना व्यक्त गरे । विद्यार्थीको गहना अनुशासन भएको उल्लेख गर्दै उनले शैक्षिक र सहक्रियाकलापसँगै विद्यालयमा सुन्दर वातावरण सिर्जना गर्न परिषद्को महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए । विजयीलाई बधाई दिँदै उनले सहकार्य र समूहगत सहभागिताले विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय भूमिका रहने बताए ।

यस शैक्षिक सत्रमा नव आगन्तुक भर्ना भएका ६० जना भन्दा बढी विधार्थीलाई स्वागत समेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *