माओवादी केन्द्रले २०८४ मा २०६४ को परिणामलाई दोहोराउने

फाल्गुण ६

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) ले २०८४ को संसदीय निर्वाचनमा २०६४ को परिणामलाई दोहोर्‍याउने तयारी सुरु गरेका छन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै पार्टीका केन्द्रीय उपमहासचिव एवं कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले २०८४ मा २०६४ को परिणामलाई दोहोराउने गरी जनता सँग माओवादी तराई मधेस जनजागरण अभियान सञ्चालन गर्न लागेको बताए ।

नेकपा माओवादी केन्द्र जनयुद्ध पछि २०६४ सालको पहिलो संविधानको सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेका थिए । प्रत्यक्ष तर्फ २४० मध्ये १२२ सिट माओवादीले जितेको बेला झापाबाट नेकपा एमालेका केपी शर्मा ओली, नेपाली कांग्रेसका कृष्ण सिटौला, मोरङबाट एमालेका भरतमोहन अधिकारी पराजित भएका थिए ।

गजुरेलले माओवादीलाई पुरानै अवस्थामा फर्काउन र सशक्त क्रान्तिकारी पार्टी बनाउन पार्टी छोडेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्काउने निर्णय भएको बताए । फागुन ३ गते नेकपा माओवादी केन्द्र कोशी प्रदेशको बैठक बसेको थियो । बैठकमा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, सहभागी थिए ।

२०८१ फागुन १२ गते झापाको कचनकबल बनियानीबाट सुरु हुने मेची महाकाली जनजागरण अभियान फागुन महिना भरी चल्ने छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले अभियानको दौरान सुनसरी, मोरङ र झापाबाट ५ हजार नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने तयारी सुरु भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *