बिराट भेट्रान क्लबको आयोजनामा चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण बिराट भेट्रान गोल्डकप–२०८१
एलएन गच्छदार
सुन्दरहरैंचा, माघ १५
बिराट भेट्रान क्लबको आयोजनामा चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण बिराट भेट्रान गोल्डकप–२०८१ मोरंग जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा सुरु हुने भएको छ । यस प्रतियोगितामा नेपालसहित भारतका टोलीहरूले सहभागिता जनाउने छ।
प्रतियोगिताको उद्देश्य खेलकुद मार्फत भाइचारा प्रवर्द्धन गर्नु र भेट्रान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु हो।
कार्यक्रमको उद्घाटन विशेष समारोहका साथ हुने तयारी गरिएको छ। स्थानीय तथा राष्ट्रिय स्तरका पदाधिकारीहरू, खेलप्रेमीहरू र विशिष्ट अतिथिहरूले समारोहलाई थप आकर्षक बनाउने छन् भने सुकुना खेलमैदान, विराटचोकमा खेल सुरु हुने भएको हो।
प्रतियोगितामा कुल १० टोलीहरूले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टोलीहरूमध्ये नेपालका विभिन्न क्षेत्रीय क्लबहरूसँगै भारतका २ क्लबको उपस्थित हुनेछन्। खेलहरू नकआउट शैलीमा हुनेछन्। नेपालका दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान मोरङ, राजारानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड झापा र आयोजक विराट भेट्रानका २ टिम सहभागी हुने भएका छन् । खेल माघ १९ गतेदेखि २६ गतेसम्म तय गरिएको छ।
पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै नगर प्रवक्ता तथा वडा १२ का अध्यक्ष रोशन प्रसाद ढकालले प्रतियोगिता भेट्रान खेलाडीहरूका लागि महत्वपूर्ण मञ्च भएको र यसले खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। साथै, स्थानीय खेल मैदानमा खेलाडीहरूका लागि आवश्यक सबै पूर्वाधार तयार गरिएको जानकारी पनि दिइएको छ।
विजयी टिमलाई नगद १ लाख १ हजार १११ रुपैयाँ नगदका साथमा ट्रफी र मेडल तथा उपविजेता टिमलाई नगद ५० हजार ५५५ रुपैयाँ नगद र विभिन्न विधागत पुरस्कारसहित ट्रफि र मेडल दिइने खेल संयोजक युवेन गुरुङले जानकारी दिए ।
खेलकुदमा रुचि राख्ने दर्शकहरूलाई यो प्रतियोगिता मनोरञ्जन र उत्कृष्ट खेल कौशल अवलोकन गर्ने अवसर बन्नेछ। आयोजकले सबैलाई सहभागिताका लागि निमन्त्रणा गर्दै खेलकुदको माध्यमबाट सामाजिक एकता बलियो बनाउने अपेक्षा गरेका छन्।




