छवि वैरागीको किनारीकृत माइली खण्डकाव्य अब दोस्रो संस्करणमा
आचल कुमार शर्मा
वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरेले आफ्नो साहित्यिक यात्रामा नवौँ कृतिका रूपमा ‘किनारीकृत माइली’ नामक खण्डकाव्यलाई प्रस्तुत गर्नुभएको छ।अत्याधिक रुचाइएको यस कृतिसँग केही समय साट्ने अवसर प्राप्त भयो।
यस खण्डकाव्यभित्र पृथक खाले विषयवस्तुलाई समेटेर गद्य र पद्य दुवै गरेर पाँच खण्डमा प्रस्तुत गरिएको छ ।यस अर्थमा यस खण्डकाव्यलाई ‘चम्पू’ शैलीको काव्य भन्न पनि सकिन्छ ।
नेपालको संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको उल्लेख र जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ कार्यान्वयनमा रहेतापनि उचित शिक्षा,दीक्षाको अल्पताको कारण समाजमा छुवाछूत तथा दलित प्रथाले मुक्ति पाउन सकेको छैन ।तिनै शोषित पीडित दलितहरूका आड र भरोसाका निमित्त प्रतिनिधित्व गर्दछ यस कृतिले।
अयं निजःपरो वेति गणना लघु चेतसाम्
उदारचरितानां तु वसुधैव कुटुम्बकम॥
अर्थात्
“सानो चित्त हुने व्यक्तिले मेरो तेरो भनेर भेदभाव गर्दछन् तर उदार हृदय भएकाहरूले संसारका सबै व्यक्ति बन्धु हुन् भन्ने सोच्तछन्” ।समाजमा गैरदलितहरूले आफ्नो वर्चस्व कायम राखिराख्नका खातिर हृदयलाई उदार बनाउँन नसक्दाको परिणाम हो दलित र छुवाछूत कायम रहिराखेको ।कानून र विभिन्न दस्तावेजमा त छुवाछूत अन्त्य भएको घोषणा गरियो र लेखियो पनि तर समस्या ज्यूँ का त्यूँ छँदै नै छ ।हो यसैका विरुद्ध वुलन्द आवाज हो किनारीकृत माइली।
…………..,………………………………
मान्छे मान्छे यौटै हो नि फरक किन भो
श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो
उक्त गीतको स्थायीसँगै खण्डकाव्य पल्टाउने जमर्को गर्दै छु।•••अभावमा जन्मिएर ,अभावले हुर्किँदै ,अभावमा बाँच्दै गरेको एउटा ब्राह्मण र गरीब दलित माइली बीचको प्रेमले विभिन्न विषयवस्तुलाई उजागर गर्ने जमर्को गरेको छ ।
कैयौँ पटक सम्बन्ध टालेर व्रीडालाई धपाएको सियो आज खिया लागेर थलिएको छ ।धागोको यादमा छट्पटाएको सियोले हिजो लाज सिलाउँदा कुनै रङको धागो खोजेन तर मान्छे चेतनशील प्राणी भएर पनि जातको रङ खोज्दै हिँड्छ ।कस्तो अनौठो छ ?
सम्झनाका तरेलीहरूमा विगत चलचित्र बनेर खेलिरहेको हुन्छ ।सालको पातमा नाउ चढेर खोलापारी बेहुली लिन गएको ,सेता दर्शिन ढुङ्गाको भतेर पकाएको, बेहुली लिएर खोलावारि आएको र बालुवाको घरमा भित्र्याएपछि तिनै खोला र दहहरूलाई साक्षी राखेर सँगै बाँच्ने कसम खाएका ती पल अनि बालापनमा म तिम्रो अगाडि अग्लो भएर उभिँदा बालुवाको सिँदुरले सिउँदो रङ्ग्याउँदा तिमी भन्ने गर्थ्यौ ,तिमी मेरो धरहरा हौ ।सधैँ यसरी नै अग्लो भएर मेरो सामुन्ने उभिनू ।यदि हाम्रो सम्बन्धमा भूकम्प आयो र तिमीलाई ढलायो भने म पनि तिमी सँगै ढल्नेछु भनेर गरेका वाचा ताजै भएर मानसपटलमा चचहुई गरेर खेलिरहेका छन् ।यहाँ एकअर्कामा अटुट विश्वास छ ।
हुन त वियोगलाई सहजै स्वीकार गर्दैन मनले ।किनकि यो मानवीय गुणपनि हो।वियोगान्त प्रेमकथालाई बडो! आकर्षक रूपमा प्रस्तुत गरिएको छ यस खण्डकाव्यभित्र। वियोगमा रहेको मनभित्र समुद्रका छाल समान अजस्र रूपमा मनोवेगहरू अरिङ्गाल बनेर जुर्मुराएका छन् ।
१)आफ्ना रहर र चाहनाहरू अभावका कारण जिन्दगीको भट्टीमा जलाउनु पर्दोरहेछ ।त्यस भट्टीमा दन्किरहेको आगोलाई न एकको आँसुले निभाउन सक्छ ,न त उक्त आगोले उसको पीडा समाप्त पार्नसक्छ ।
२)भाग्यले पाइने मित्र हुन्छन मनले पाइने मायाँ हो इमानदार मान्छेले सहजै पाउने आखिर धोका रहेछ ।
३)माइली तिमीलाई पसिनाको गन्ध मनपर्दैन।आधुनिक अत्तर मनपर्छ।
४)सुतेका रातहरूले मिरमिरे खसाउँछन् ,बगैँचा हाँसेको हेर्न भमराहरू आउँछन् तर तिमी हाम्रो फूलबारीमा पराग छर्न आइनौ ।
५)नेपथ्यबाट गर्जिनेलाई के थाहा?बलेँसीहरू आँसु झार्दै सागर भेट्न खहरेसँग अङ्कमाल गर्दै खोलासम्म झर्नेगर्छन् ।
६)तिमी आफैँ वज्र बोकेर कोमल मुटुमा प्रहार गर्दै हिँड्ने मान्छे।
७)आमाले भन्नुहुन्थ्यो तँ गर्भमा आउँदा भकी अमिलो धेरै खाएकी छु ।यसैले म आमाका गर्भबाटै सम्बन्धमा अमिलो हुन सिकेर आएको मान्छे हूँ ।
८)तिमी सित्तैमा भेट्दा अकबरे खोर्सानी पिरो लाग्दैन भन्ने मान्छे तर आज मरिचको दानो देखेर तर्सियौ माइली।
९)के मान्छेले मान्छेसित प्रेम गर्नु अपराध हो ? यसमा खलनायक बनेर जात कसरी उभियो?
एकाएक माइली टाढिए पश्चात् उत्पन्न यी र यस्ता मनोवेग जायज त हु्न् तर माइली साकट थिइनन् भन्ने कुरा ब्राह्मण प्रेमीले बुझ्ने कोसिस नगरेको देखियो ।वास्तवमा माइलीले धोका दिएकी थिइनन् ।उनले भनेकी छिन् ‘लुकेर छोएको के अर्थ?डरले काँपेको प्रेम के काम?न पहिचान न आत्मसम्मान् ?’ छुवाछूत अन्त्यको बारेमा कानून बन्यो,किताबमा लेखियो तर संस्कारमा र समाजमा कहिले सुधार आएन ।‘तपाईं छताछुल्ल हुनुहुँदैन ।आफ्नो परिधिभित्र रहनुहोस् ।कमसेकम तपाईं अहिले भरिएको बोतल जस्तै त हुनुहुन्छ ।तपाईं पोखिनु भनेको म पोखिनु हो ।तपाईं उच्च जातको छोरो बरु उच्च हिमाल मुस्कुराउनुहोस् ।म शीतको थोपा रातमा मरिहत्ते गरेर जम्मा हुन्छु अनि फेरि बिहानीमा बिलाउँछु।खुट्टा नहुनेले सागरमाथा चढ्ने रहर गर्नु ज्यान फ्याँक्नु हो ।त्यसैले म तपाईंबाट पर भएँ ।
अहो! प्रेम साँच्चै अलौकिक छ ।प्रेम दुईतर्फी भए अद्भुत तर यो अनिवार्य छैन कि दुईतर्फी होस् एकतर्फी पनि हुनसक्छ ।प्रेम जहाँ,जो सँग,जतिबेला पनि हुनसक्छ । त्याग प्रेमभित्रको एक अनुपम अङ्ग हो ।यहाँ माइलीको त्याग सार्थक रह्यो ।चाहे माइलीको चोखो प्रेम होस् चाहे रुकुमको नवराज वि.क. को प्रेम होस् यी प्रतिनिधि प्रेम हुन् ।विभेद र छुवाछूतको हिंस्रक जनावरले यी र यस्ता प्रेमका पालुवालाई निमोठेर शहीद बनाइरहेका दृश्यलाई माइलीले उजागर गरेको छ ।आखिर गैरदलितहरूद्वारा गरिएको विभेदलाई दलितहरूले कहिलेसम्म साउनेतीको रूपमा स्वीकार गरिरहने ?
समस्या र प्रश्नमात्र होइन ‘किनारीकृत माइली’ ले छुवाछूत र विभेदका खातिर समाधानको यसरी शङ्खघोष गरेको छ।
~सुनका गहना बनाउनेलाई सुनार भनियो।त्यही गहनालाई धनकी देवी लक्ष्मी मानेर पुज्नेलाई ब्राम्हण भनियो।पूजामा सुनारको काम र नाम हरायो ।एकटुक्रो धातुले आकार लियो तर आकार दिने कर्मवीर अछुत भयो।
~दमाहा बजाउने साधकलाई छाला बेरिएको निहुँमा दमाई भन्न थालिएको अन्धविश्वासी युग खोज्ने छु।
~सहनाइ र पञ्चैबाजाका धुनमा कम्मर हल्लाउँदै नाँच्ने विवाहको साइत खोज्ने सुकिला जातको पहिचान गर्दै यो विभेदी संस्कारको जरोकीलो उखेल्नु छ ।
~के हो श्रावक भनेको?तत्कालीन वनारसका राजा अश्वेन र रानी वामाको जन्मकुण्डली हेर्दा तिनका सन्तान,दरसन्तान छोरा पार्श्वनाथ जो जैन धर्मका गुरु हुन् ।हो तिनै पार्श्वनाथ श्रावकहरूका पूर्वज थिए।तिनै श्रावकबाट अपभ्रंश हुँदै क्षारक अनि सराक भनिनु र आज सारकबाट सार्की भन्न थालिनुको निचोड के हो गैरदलितहरू हो ?
शिवपुराण र स्वस्थानीमा उल्लेखित पतिव्रता पालन गरेर सत् मा बसेकी वृन्दालाई ब्राम्हण साधुको भेष धारण गरेर सती डगाएको कथा छ ।के यो नारी अस्तित्वमाथि खुला बलात्कार होइन ?ब्राम्हण भएँ ,ज्ञान छ भन्दैमा जे पनि गर्न कत्तिको जायज छ ? जवाफ देऊ।
“एकं सद् विप्रा बहुधा वदन्ति।” अर्थ ‘भगवान् एक छन् तर बुझ्नेहरूले फरक फरक नामले चिन्ने छन्’ भनेजस्तै मान्छेका जम्मा दुई जात छन् पुरुष र नारी तर बनाउनेले विभिन्न जातका बनाए।
हाम्रा शील्प कर्म र पौरखहरू आभा बनून् ती कला
हाम्रा गीत समस्त राष्ट्र हितमा ज्यूँदा रहून् ती गला
जागौँ नीद पुग्यो उठौँ शुभ
भयो सत्कर्मका खातिर
झुट्टो कर्म गरेर मर्न नपरोस् बाँच्दो छ को आखिर?
वास्तवमा दलित कुनै जातले तय हुने होइन दलित त संस्कारले तय हुँदोरहेछ ।दलित त सोचले हुँदोरहेछ अनि दलित त अहंकार र खोक्रो आडम्बरलाई जोगाउनका खातिर अज्ञानको पराकाष्ठा रहेछ ।अब दलितबाट होइन गैरदलितहरूबाट छुवाछूत र आडम्बरको पर्दा च्यातिनुपर्छ ।यसरी विभेद र छुवाछूत अन्त्य हुनेछ र सुन्दर समाजको निर्माण हुनेछ भन्दै माइली विभेद र छुवाछूतको समाधान बनेर प्रस्तुत भएको छ। विमोचन भएको महिना दिन नपुग्दै पाठकहरूद्वारा अत्याधिक रुचाइएको यो खण्डकाव्य अब दोस्रो संस्करणमा पुगेको छ । पुस्तकको आवरण पहिलो संस्करणभन्दा केही परिमार्जनगरि मूल नायिका माइलीलाई किनारमा रहेको देखाइएको छ ।
