ठेकेदारको लापरबाहीले खोटाङमा १५ शय्याको अस्पताल निर्माण अलपत्र
खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ। तोकिएको समयमै निर्माण सम्पन्न हुनुपर्ने भवनको हालसम्म करिब ३३ प्रतिशत मात्रै काम भएको छ।
गाउँपालिका र ड्रागन–रियर जेभीबीच २०७८ असार २५ गते निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ असार २८ गतेभित्र भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो। तर निर्धारित समयमै काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन।
कुल २० करोड ७१ हजार ५९० रुपैयाँ लागतको परियोजनाअन्तर्गत हालसम्म ठेकेदार कम्पनीले ६ करोड ४९ लाख ६ हजार रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक खेमबहादुर खड्काका अनुसार आवश्यक बजेट र निर्माणका लागि उपयुक्त वातावरण उपलब्ध गराउँदा पनि ठेकेदार कम्पनीले कामलाई गति दिएको छैन। उनले पटक–पटक ताकेता गर्दा पनि पछिल्लोपटक थपिएको म्यादभित्र समेत निर्माण सम्पन्न नभएको बताए।
उनका अनुसार अब ठेकेदार कम्पनीविरुद्ध आवश्यक निर्णय लिन गाउँ कार्यपालिकाको बैठक बोलाउने तयारी भइरहेको छ।
अस्पताल निर्माणका लागि स्थानीयवासीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। तर निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासी निराश बनेका छन्।
यता ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधनमा लागेको समय, पर्याप्त बजेटको अभाव तथा फोक्सिङटारमा पुल नहुँदा निर्माण सामग्री ढुवानीमा समस्या भएकाले काम ढिलो भएको दाबी गरेका छन्।
