५ वर्ष सकुशल आफ्नो कार्यकाल पूरा गरि हाल सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका गोविन्द बहादुर भण्डारीसंगको कुराकानी

पथरीशनिश्चरे–४ कोसेली चोक, मोरङका  ५ वर्ष सकुशल आफ्नो कार्यकाल पूरा गरि हाल सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका गोविन्द बहादुर भण्डारीसंगको कुराकानी  

तपाईंको प्रारम्भिक जीवन र शिक्षाबारे थोरै बताइदिनुहोस् न ।
श्रीमती १, छोरी १, छोरा १ र आमाका साथमा बस्दै आएको छु ।
प्रारम्भिक जीवन र शिक्षाबारे एसएलसी सम्मको अध्ययन, भोजपुर जिल्लाको च्याङ्ग्रे गाविस वडा नं. २ सानो प्याक्लामा २०३२ मंसिर ८ गते साइलो छोराको रुपमा जन्म भएको हो । बसाई सरी कोक्ताङ हुँदै मोरङको तत्कालीन शनिश्चरे गाविस हाल पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ मा स्थायी बसोबास गरिरहेको छु ।
समाजसेवामा लाग्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?
समाजसेवामा लाग्ने प्रेरणा आफैंमा पनि थियो । सानैदेखि समाजसेवा गर्न मन लाग्थ्यो ।

विभिन्न संस्थाहरूमा सक्रिय हुनुभएको छ, यो यात्राको सुरुवात कसरी भयो ?
अहिले म विभिन्न संघ संस्थामा आबद्ध छु । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भै ५ वर्ष सकुशल आफ्नो कार्यकाल पूरा गरि हाल निवर्तमान वडाध्यक्ष साथै शान्तिपथ पैनी सिंचाईको अध्यक्ष, कोसेली युवा क्लबको अध्यक्ष, वशिष्ठ भण्डारी समाजको मोरङ सदस्य, पञ्चकन्या मावि च्याङ्ग्रेको पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षको जिम्मेवारी पाई निर्वाह गरिरहेको छु ।
तपाईंको वडाध्यक्ष कार्यकालमा प्रमुख उपलब्धिहरू के–के थिए ?
मेरो कार्यकालमा प्रमुख उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो वडाध्यक्ष हुने अवसर पाएँ । वडा भित्रका जनताहरुलाई दैनिक प्रशासनिक कार्य, विकास निर्माणका कामहरु गरियो । अन्य कामहरुमा विपन्न नागरिकहरुलाई अप्ठ्यारोमा परेका नागरिकहरुलाई सहयोग गर्ने, अधिकार प्राप्त भएको मुख्य उपलब्धि ठान्छु ।

पथरीशनिश्चरे वडा नं. ४ मा तपाईंको पालामा भएका ठूला विकास परियोजनाहरू के–के थिए ?
पथरीशनिश्चरे -४ मा मेरो पालामा भएका ठूला विकासका योजना कुशल बजार पूर्व पिप्ले खोलामा पुल निर्माण, खोपकेन्द्र भवन, स्वास्थ्य चौकी भवन, वडा सामुदायिक भवन, राधाकृष्ण टोल सडक कालोपत्रे, पुलचोक भातेगौंडा सडक खण्ड कालोपत्रे, किर्तिपुर सखुवारा सोमबारे सम्म जोड्ने सडक कालोपत्रे, वडा कार्यालय व्यवस्थापन, वडामा प्रहरी चौकी स्थापना, शिक्षामा सुधार, डेढ दर्जन कल्भर्ट निर्माण, एकघर एक शौचालय, पासवान टोलमा १७ परिवारलाई घर निर्माण, सुत्केरी आमा भेटघाट कार्यक्रम, पर्यटन विकासको लागि डिपिआर, सडक डिपिआर, वडामा फुसको छाना हटाउ अभियान, वडा प्रोफाइल निर्माण, पूर्व जनप्रतिनिधिहरु तथा जेष्ठ नागरिक सम्मान, अपाङ्ग, दलित, महिला, आदिवासी जनजातिहरुलाई शिपमुलक चेतना मुलक तालिम, सार्वजनिक सुनुवाई जस्ता कार्य साथै विकास निर्माण, विद्युत ट्रान्सफर, पोल तार, खानेपानी, सिंचाईमा ध्यान दिएको थिएँ ।

तपाईंको कार्यकालमा भएको कुनै चुनौतीपूर्ण समस्या कसरी समाधान गर्नुभयो ?
मेरो कार्यकालमा चुनौतीपूर्ण काम कोरोना भाइरस सँग लड्दै जनताको सेवामा लागिरहेँ । जनताको हिँडडुल गर्न नसक्ने परिस्थितिमा पनि सावधानी अपनाउँदै जनताको सेवामा लागेँ ।
जनप्रतिनिधि हुँदा स्थानीय सरकारसँग समन्वय कस्तो रह्यो ?
जनप्रतिनिधि हुँदा स्थानीय सरकार सँग समन्वय ठीक ठीकै रह्यो ।

कोसेली युवा क्लब स्थापना गर्ने उद्देश्य के थियो ?
कोसेली युवा क्लब र युवा अभियान भन्दापनि समाजमा विकृति विसंगति हुन नदिने, युवाहरुलाई राम्रो बाटामा लाग्न उत्प्रेरित गर्ने, एक आपसमा साह्रो गाह्रो, अप्ठ्यारो पर्दा सहयोगको भावना राख्ने, आफ्नो गाउँ, टोललाई सफा हराभरा बनाउने उद्देश्यका साथ हाम्रो कोसेली युवा क्लब हाल सक्रिय पनि भएको छ ।
क्लबले समाजमा पु¥याएको प्रभाव कस्तो देख्नुहुन्छ ?
क्लबले समाजमा पुर्याएको प्रभाव राम्रो छ ।
वर्तमान युवा पुस्तालाई समाजसेवामा कसरी प्रेरित गर्न सकिन्छ ?
वर्तमान युवा पुस्तालाई समाज सेवामा उत्प्रेरित गर्न सकिन्छ । कसरी भनें समाज सेवा विशुद्ध निःस्वार्थको हुनुपर्छ । समाज सेवाबाट पाउने उपलब्धी मात्र नाम हो । कुनै धर्म, जात, जाति, लिङ्ग नभनी अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्नु हुने युवालाई समाज सेवामा लाग्न उत्प्रेरित गर्न सकिन्छ ।
सिंचाई जल उपभोक्ता संस्थाको मुख्य उद्देश्य के हो ?
सिंचाई जल उपभोक्ता संस्था र कृषी गर्नुको मुख्य उद्देश्य कृषकहरुलाई खेती योग्य जमिनमा सिंचाई पुर्याउने, कृषीलाई आधुनिकिकरण गर्ने, किसानका खेतबारीमा आवश्यकता अनुसार सिंचाई पुर्याउने, अन्नबाली उत्पादनमा वृद्धि हुनेगरी व्यवस्था मिलाउने हो ।
कृषकहरूको समस्या समाधान गर्न तपाईंको संस्था के गर्दैछ ?
कृषकको समस्या समाधानमा हाम्रो संस्था लागि परेको छ । सबै किसानका खेतमा पानी पुर्याउने कृषीलाई नगरपालिकासँग औजार माग गर्ने जस्ता उचित मल विउको व्यवस्था मिलाउने काममा हाम्रो संस्था लागि परेको छ ।
जल व्यवस्थापनका चुनौतीहरू के–के छन्, र तिनलाई समाधान गर्न के उपाय अपनाइँदैछ ?
जल व्यवस्थापनमा रहेको चुनौति, भौतिक निर्माण हुन बाँकी पैनीहरुका बाँध निर्माण गर्न सम्बन्धित निकायमा योजना माग गर्ने ।
समाजसेवाका क्रममा सबैभन्दा ठूलो उपलब्धि के महसुस गर्नुभएको छ ?
समाजसेवामा ठूलो उपलब्धि भनेकै आफूभन्दा तल परेको उनीहरुका कुरा कसैले नसुनेको र पिछाडि परेका नागरिकलाई अगाडि ल्याउनु नै ठूलो उपलब्धी हो जस्तो लाग्छ ।
पथरीशनिश्चरेको समग्र विकासका लागि तपाईंको दृष्टिकोण के छ ?
पथरी शनिश्चरेको समग्र विकास भनेकै सडक, पुल, स्वास्थ्य, शिक्षा, कृषी, पर्यटन, विद्युत, मानव संसाधन, सूचना सञ्चार, यातायात अन्य भौतिक संरचना आदि ।
भविष्यमै राजनीति वा कुनै उच्च तहको नेतृत्वमा जाने सोच छ कि छैन ?
भविष्यमा कुनै राजनीति वा सामाजिक क्षेत्रको कुनै ठाउँ ओगट्ने सोच छ । राजनीतिभन्दा पनि बढी समाज सेवामा लाग्ने सोंच छ ।
स्थानीय सरकार, युवा, र समाजसेवीहरू मिलेर समुदाय विकासमा कसरी अघि बढ्न सक्छन् ?
स्थानीय सरकार, युवा र समाजसेवाीहरु एक आपसमा हातेमालो गर्दै कुनै दल विशेष, कुनै धर्म विशेष, कुनै जाति विशेष, कुनै व्यक्ति विशेष नभनी निःस्वार्थ भावनाले लाग्ने हो भनें समुदायको विकास अवश्य संभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *