इटहरीबाट जन्ती बोकेर गएको जीप धनुषामा दुर्घटना, पाँच जनाको मृत्यु
इटहरी । सुनसरीको इटहरीबाट महोत्तरी जादै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी(बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।




